काठमाडौं । घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल अन्तर्गत नेपालले शनिबार बंगलादेशसँग बराबरी खेल्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।
यस बराबरीले नेपाल प्रतियोगिताको फाइनलमा भने पुगेको छ । अब फाइनलमा नेपालले बंगलादेशसँग नै खेल्नेछ ।
तर, यस नतिजाले नेपाली राष्ट्रिय टिमले खराब तथ्यांक बनाएको छ ।
नेपाली टिम लगातार ७ अन्तराष्ट्रिय खेलमा गोलविहीन बनेको छ । नेपालले गोल गर्न नसकेको ६ सय ५८ मिनेट भएको छ ।
नेपाली टिम समग्रमा ८ खेलमा गोलविहीन बनेपनि किर्गिस्तानको यू-२३ टिमविरुद्धको खेल भने अन्तराष्ट्रिय खेल मानिने छैन ।
नेपालले पछिल्लो पटक विश्वकप छनोटमा चाइनिज ताइपेविरुद्ध गोल गरेको थियो । उक्त खेलमा नेपालले २-० को जित निकालेको थियो ।
ताइपेविरुद्धको खेलमा अन्जन विष्टले दुई गोल गरेपछि नेपालले गोल गर्न सकेको छैन ।
ताइपेपछि नेपालले विश्वकप छनोटमा अष्ट्रेलिया, जोर्डन र कुवेतसँग खेलेको थियो ।
अष्ट्रेलियासँग ५-० ले पराजित नेपाल जोर्डनसँग ३-० र कुवेतसँग १-० ले पराजित भएको थियो ।
त्यस्तै म्यानमारसँगको मैत्रीपूर्णमा नेपाल ३-० ले पराजित भएको थियो ।
नेपालले पछिल्लो पटक बंगलादेशसँग उसैको मैदानमा २ मैत्रीपूर्ण खेल खेल्यो ।
ढाकामा भएको पहिलो मैत्रीपूर्णमा २-० ले पराजित नेपाल दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो ।