नेपालगन्ज । लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङले एन्फा प्रेसिडेन्ट लिगमा बुधबार जित हासिल गरेका छन् ।
धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शीर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ ।
धम्बोझीको जितमा निशान लिम्बुले दुबै गोल गरेका थिए । उनले खेलको दुई मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले ६१औं मिनेटमा टोलीका लागी दोस्रो गोल गरे । धादिङको तर्फबाट विजय भुजेलले १६औं मिनेटमा गोल गरेका थिए ।
खेलमा म्यान अफ द म्याच धम्बोझीका निशान लिम्बुले जिते ।
नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा त्रिवेणी युवा क्लब लमजुङले सैनिक फुटबल क्लब झापालाई २–० ले हरायो ।
त्रिवेणीको जितमा लक्ष्मण रुचाल र बिमल रानाले गोल गरे । लक्ष्मणले ६१औं मिनेटमा गोल गरेका थिए भने बिमलले ७८औं मिनेटमा गोल गरे ।
खेलमा त्रिवेणीका लक्ष्मण रुचाल म्यान अफ द म्याच घोषित भए ।
जितसँगै त्रिवेणीले ४ खेल खेल्दै ३ खेलमा जित निकालेर ९ अंक जोडेको छ । शिर्ष स्थानको स्टार सिटी युवा क्लब कैलाली भन्दा त्रिवेणी १ अंकले मात्र पछि परेको छ ।
यसैगरी सैनिक फुटबल क्लबले ४ खेल खेल्दै १ जित र १ बराबरी गरेर ४ अंक जोडेको छ भने २ खेलमा हारको सामना गरेको छ ।
चैतको १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन् ।
प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् ।
यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।
प्रसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् ।