काठमाडौं । स्वयम्भु क्लबले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार प्लानिङ ब्वाइज युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै स्वयम्भुले दोस्रो जित निकालेको हो ।
स्वयम्भुको जितमा बिक्की राई र सुग्रित मगरले एक एक गोल गरे । प्लानिङका क्रिजल खड्काले एक गोल फर्काए ।
खेलको ३६ औं मिनेटमा बिक्कीले गोल गर्दै स्वयम्भुलाई १-० को अग्रता दिलाए ।
७९ औं मिनेटमा प्लानिङका क्रिजलले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा सुग्रितले गोल गर्दै स्वयम्भुलाई २-१ को जित दिलाए ।
जितसँगै स्वयम्भुले ३ खेलमा ६ अंक जोडेको छ ।
प्लानिङको यो दोस्रो हार हो । प्लानिङले ३ खेलमा १ अंक जोडेको छ ।
अर्को खेलमा विरगंज युथ एकेडेमीले समाज कल्याण खेलकुद केन्द्रलाई १-० ले हराएको छ ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।