एजेन्सी । लेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति म्यानचेस्टर युनाईटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै लेष्टर अन्तिम चारमा पुगेको हो ।
घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन केलिची इहिनाचोले दुई गोल गरे । युरी टेलिमान्सको नाममा एक गोल रह्यो ।
युनाईटेडका मासुन ग्रीनउडले एक गोल फर्काए ।

खेलको २४ औं मिनेटमा केलिचीले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए ।
३८ औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ५२ औं मिनेटमा युरीले गोल गरेपछि लेष्टरले २-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ७८ औं मिनेटमा केलिचीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई ३-१ को जित दिलाए ।

यससँगै लेष्टर ३९ वर्षपछि पहिलो पटक एफए कपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
अब लेष्टरले सेमिफाइनलमा साउथह्याम्पटनसँग खेल्नेछ ।
अर्को सेमिफाइनलमा चेल्सी र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।