काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलको आफ्नो अन्तिम लिग खेलमा श्री भगवती क्लबले जित निकालेको छ ।
मंगलबार भएको खेलमा श्री भगवतीले ब्वाइज युनियन क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र प्रज्वल थापा मगरले एक एक गोल गरे ।
ब्वाइजका टंक बहादुर स्याङतानले एक गोल फर्काए ।
खेलको ४० औं मिनेटमा नवराजले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए ।
तर, ६३ औं मिनेटमा टंकले गोल गर्दै ब्वाइजलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ६७ औं मिनेटमा प्रज्वलले गोल गर्दै श्री भगवतीलाई २-१ को जित दिलाए ।
जितसँगै श्री भगवती पाँचौं स्थानमा उक्लिएको छ ।
श्री भगवतीले ११ खेलमा १५ अंक जोडेको छ ।
ब्वाइज ११ खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।