एजेन्सी । इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा मंगलबार पोर्टोको सामना गर्दैछ ।
युभेन्टसले घरेलु मैदानमा पोर्चुगिज क्लबसँग खेल्नेछ । दुई टिमबिचको खेल नेपाली समय अनुसार राती १ः४५ बजे सुरु हुनेछ ।
पोर्टोको घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ ले पराजित युभेन्टसलाई च्याम्पियन्स लिगको क्वाटरफाइनल यात्राका लागि जित्नै पर्ने दबाब छ । युभेन्टसले घरेलु मैदानमा १–० को जित निकाल्दा समेत च्याम्पियन्स लिगको अर्को यात्रा तय गर्नेछ ।
दोस्रो लेगमा १–० को जित निकाल्दा समग्रमा समान २–२ भएपनि युभेन्टस अवे गोलको आधारमा शीर्ष आठमा पुग्नेछ । तर, पोर्टोले बराबरी खेले युभेन्टस च्याम्पियन्स लिगको शीर्ष १६ बाटै बाहिरिने छ ।
त्यसैले पनि रोनाल्डो प्रेरित युभेन्टस घरेलु मैदानमा जित्नै पर्ने दबाबमा मैदान उत्रिनेछ । युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले पनि आफुहरुले धेरै प्राविधिक खेल खेल्नुपर्ने बताएका छन् ।
‘हामीले जित्नका लागि धेरै प्राविधिक खेल खेल्नु पर्नेछ । किनकि हामीले एउटा बलियो टोलीको सामना गर्नेछौ । हामीसँग सोच्नको लागि थोरै समय । जहाँ हामी पहिलो लेगमा पछि पनि छौ,’ उनले भने, ‘नतिजा खुला छ । खेल कसरी जित्ने भन्ने विषयमा हामी चतुर हुनुपर्नेछ । किनकि यो हाम्रो च्याम्पियन्स लिग यात्राको निर्णाय खेल पनि हो ।’
यता पोर्टोको लक्ष्य भने कम्तिमा पनि युभेन्टसलाई जुनसुकै अवस्थानमा पनि बराबरीमा रोक्नु रहने छ । पोर्टोले यभेन्टसलाई बराबरीमा रोक्न सके पोर्टो च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्नेछ ।
पोर्टोका प्रशिक्षक सर्जियो कोन्सिकाओले खेलके नतिजा आफ्नो पक्षमा पार्न राम्रो तयारी गरेको बताए । उनले यो जित पोर्टो जस्ता क्लबका लागि भएको बताए ।
‘हामीले खेलमा राम्रो नतिजा प्राप्त गर्नका लागि तयारी राम्रो गरेका छौं । यो पोर्टो जस्ता क्लबका लागि विजय हुन सक्छ,’ उनले भने, ‘यो ११ खेलाडीविरूद्ध ११ खेलाडी हो । उनीहरूले आफ्नो छातीमा रहेको ब्याजलाई सम्मान गर्ने छन् । पोर्टोको यस प्रतियोगितामा ठूलो इतिहास छ ।’
त्यस्तै आजै हुने अर्को खेलमा जर्मनी बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डले स्पेनिस ला लिगका क्लब सेभियाको सामना गर्दैछ ।
डर्टमण्डको घरेलु मैदानमा हुने खेलमा राती १ः४५ बजे सुरु हुनेछ ।
सेभियाको घरेलु मैदानमा भएको पहिलो लेगमा ३–२ ले अघि रहेको डर्टमन्डले सेभियासँग गोलरहित बराबरी खेलेमा पनि च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्नेछ ।
यता सेभियाले भने कम्तिमा पनि डर्टमण्डविरुद्ध २–० को जित निकाल्नु पर्नेछ ।