एजेन्सी । इन्टर मिलान इटालियन सिरी 'ए' फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा लाजियोलाई ३-१ गोल अन्तरले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । लाउटरो मर्टिनेजले एक गोल थपे ।
लाजियोका मिलिनकोभिक साभिकले एक गोल फर्काए ।
घरेलु मैदानमा २२ औं मिनेटमा लुकाकुले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टर २-० ले अघि रह्यो ।
लुकाकुले आफ्नो करियरको ३०० औं गोल समेत पुरा गरेका छन् ।

खेलको ६१ औं मिनेटमा साभिकले गोल गरेपछि खेल २-१ को स्थितिमा आयो ।
त्यसपछि खेलको ६४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई ३-१ को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको इन्टरले २२ खेलमा ५० अंक जोडेको छ ।
इन्टर दोस्रो स्थानको एसी मिलान भन्दा १ अंकले अघि रहेको छ ।
लाजियो ४० अंक जोडेर सातौं स्थानमा रहेको छ ।
