काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ ।
मंगलबार भएको खेलमा पुलिसले विराटनगर महानगरपालिकालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसलाई जित दिलाउन निरु थापाले दुई गोल गरिन् ।
यस्तै निर्मला उपाध्यायको नाममा एक गोल रह्यो ।
विराटनगरविरुद्ध पुलिसले पहिलो हाफमै अग्रता बनाएको थियो ।
खेलको ४१ औं मिनेटमा निर्मलाले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएकी थिइन् । उनले निर्मला बिकको पासमा गोल गरेकी हुन् ।
दोस्रो हाफमा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेकी निरु चम्किईन् ।
खेलको ५७ औं मिनेटमा निरुले गोल गर्दै पुलिसको अग्रता २-० को बनाईन् ।
त्यसपछि खेलको ५९ औं मिनेटमा निरुले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ३-० ले विजयी भयो ।
जारी लिगमा निरुको यो तेस्रो गोल हो ।
यो जितसंगै पुलिसले विराटनगरविरुद्ध अघिल्लो खेलमा व्यहोरेको बदला समेत लिएको छ ।
यस अघिको भेटमा पुलिस विराटनगरसँग १-० ले पराजित भएको थियो ।
विराटनगरलाई हराएसँगै पुलिस लिगको चौंथो स्थानमा उक्लिएको छ ।
पुलिसले ८ खेलमा ११ अंक जोडेको छ ।
विराटनगर ८ खेलमा १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
विराटनगरका पारस चौधरीले काउन्टरमा गोल खान पुगेको बताए ।
'खेलको ४२ मिनेटसम्म राम्रो खेल्यो । लास्ट डिफेन्स र गोलरक्षक घाईते भए । काउन्टर गोल खाइयो,' उनले भने, 'अर्को खेलमा वालिङ र चौडण्डीलाई हराउने छौं ।'
जितपछि पुलिसका मुख्य प्रशिक्षक संजिब जोशीले गोल निस्किएपछि टिमको खेलमा सुधार भएको बताए ।
'जित भयो राम्रो भयो । सुरुवाती ४० मिनेट हत्तारिएर खेले । गोल भएपछि सुधार भयो,' उनले भने, 'रेखा घाईते छ । अहिले खेल्दैन । उसको स्थानमानिर्मला उपाध्यायले राम्रो खेल्यो । हामी शीर्ष तीनका लागि खेल्छौं।'