एजेन्सी । लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसनले क्लब प्रिमियर लिगको उपाधि होडमा नरहेको बताएका छन् ।
प्रिमियर लिग अन्तर्गत बुधबार राति घरेलु मैदानमा पराजित भएपछि रोबर्टसनले टिम उपाधिको दौडमा नरहेको बताएका हुन् ।
एनफिल्डमा लिभरपुल ब्राइटनसँग १-० ले पराजित भएको थियो ।
यससंगै लिभरपुल सन् १९८४ पछि एनफिल्डमा लगातार तीन खेलमा गोल विहीन बनेको थियो ।
ब्राइटनलाई जित दिलाउन स्टेभेन अल्जाटेले ५८ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

ब्राइटनसँग पराजित भएपछि लिभरपुल लिग लिडर म्यानचेस्टर सिटीसँग ७ अंकले पछि परेको छ ।
अब लिभरपुलले अर्को साता सिटीसँग नै खेल्नेछ । उक्त खेल लिभरपुलका लागि महत्वपूर्ण रहेको छ ।
'म्यानचेस्टर सिटीविरुद्धको खेल महत्वपूर्ण छ । यस समय हामी उपाधि होडमा छैनौँ,' रोबर्टसनले भने, 'हामी उनीहरु भन्दा ७ अंकले पछि छौँ । उनीहरु १० अंकको अग्रता बनाउन चाहन्छ । हामी फर्कन चाहान्छौ । हामी अझै राम्रो टिम हौँ ।'
लिगमा सिटीले २१ खेलमा ४७ अंक जोडेको छ । लिभरपुलले २२ खेलमा ४० अंक जोडेको छ ।
लिभरपुल लिगको चौंथो स्थानमा रहेको छ ।

यस्तै स्कटिस डिफेन्डर रोबर्टसनले ब्राइटन राम्रो टिम रहेको समेत बताए ।
'ब्राइटन उत्कृष्ट टिम हो । हामी अत्यन्त निराश भयौ । उनीहरुले मौका सिर्जना गरे । हामीलाई दबाबमा राखे । हामीले गर्न चाहेको उनीहरुले गरे,' उनले भने ।
रोबर्टसनले टिमले हरेक खेल अघि फरक फरक तयारी गर्ने गरेको भएपनि राम्रो नतिजा निकाल्न असफल भईरहेको बताए ।
'हरेक खेलका लागि फरक तयारी गर्छौं । तर, क्लिक भईरहेको छैन । हामी नतिजा खोजिरहेका छौँ,' उनले थपे ।