काठमाडौं । नगर टोली विराटनगर महानगरपालिकासँग पराजित भएको नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगको उपाधि होडबाट आफु बाहिरिएको स्विकार गरेको छ ।
बुधबार एन्फा मुख्यालयमा भएको दोस्रो खेलमा विभागीय पुलिस क्लब विराटनगर महानगरपालिकासँग १–० गोल अन्तरले पराजित भएको हो ।
खेलको नौं मिनेटमा निर्णायक गोल गर्दै विराटनगरकी पार्वती घलेले टोलीलाई दोस्रो जित दिलाएकी थिईन् ।
पराजित भएसँगै पोष्ट म्याच कन्फेरेसनमा बोल्दै मुख्य प्रशिक्षक संजिब जोशीले आफ्नो टोली उपाधि होडबाट बाहिरिएको बताए ।
‘पहिलो राउण्ड सोचेजस्तो भएन । दुई हार दुई बराबरसँगै अव उपाधि सम्भव छैन ।’ पूर्व राष्ट्रिय फुटबल टोलीका गोलरक्षक समेत रहेका जोशीले भने ।
उनले उपाधि होडबाट बाहिरिएसँगै अव दोस्रो र तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने बताए । ‘अब, दोस्रो तेस्रो स्थानको लागि खेल्छौं । उपाधि होडबाट बाहिरियौं ।’ उनले भने ।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग बराबर खेलेको पुलिस विभागीय सशस्त्र प्रहरी एपिएफ क्लबसँग पराजित भएको थियो । विराटनगरविरुद्धको हार पुलिसको दोस्रो हार हो ।
पहिलो चरणको अन्तिम खेलसँग पुलिस तालिकाको चाौथो स्थानमा झरेको छ । पुलिसलाई हराएको विराटनगर भने एक स्थान माथि तेस्रोमा छ ।
विराटनगरसँग पराजित भएसँगै पुलिस शीर्ष स्थानमा रहेको एपीएफभन्दा १० अंकले पछाडि छ ।
यसअघि उपाधिका लागि दाबेदार देखिएको पुलिसका प्रशिक्षक जोशीले खेलाडीले सोचेजस्तो नखेलि दिदाँ टोलीमा समस्या आएको बताए ।
‘खेलाडीले पनि भने जस्तो खेलेनन् । खेलाडीबाट जे आश गरिएको थियो, त्यो भएन ।’ उपाधि होडबाट बाहिरिनुको कारण उनले खुलाए ।
जारी लिगको पहिलो चरण समाप्त हुँदा ६ खेलबाट शत प्रतिशत जित निकालेको एपिएफ तालिकाको शीर्षस्थानमा छ ।
समान खेलबाट १३ अंक बटुलेको आर्मी दोस्रो स्थानमा छ । १० अंक बटुलेको विराटनगर तेस्रो स्थानमा रहेको छ । समान ८ अंक रहेको पुलिस चौथो स्थानमा रहँदा गोल अन्तरका आधारमा वालिङ पाचौं स्थानमा छ । ३ अंक जोडेको चन्द्रपुर छैठो स्थानमा रहँदा चौदण्ढीगढी अंक विहिन हुँदै पुछारमा छ ।