'खेलाडीमा उत्साह र डरको मिश्रण'

फाइल तस्बिर
काठमाडौं । कोरोना भाईरसको महामारीपछि पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण अर्को साताबाट सुरु हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आवश्यक सावधानी अपनाएर मंसिर १० गतेबाट टिमको प्रशिक्षण थाल्ने निर्णय गरिसकेको छ ।
क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको सूची समेत सार्वजनिक गरिसकेको छ । नेपाली टिमलाई प्रशिक्षक जगत टमटाले प्रशिक्षण दिने छन् ।
बन्द प्रशिक्षणको लागि क्यानले मंसिर ८ गते खेलाडीको कोरोना परिक्षण गर्ने जनाएको छ । कोरोना नेगेटिभ आएका खेलाडीलाई प्रशिक्षणमा पठाईनेछ ।
कोरोना महामारी सुरु भएपछि नेपाली टिमले करिब ९ महिनाबाट सामुहिक प्रशिक्षण गर्न पाएका थिएनन् । नेपालले पछिल्लो पटक गत मार्चमा भएको एसीसी इस्टर्न रिजन प्रतियोगिताको लागि बन्द प्रशिक्षण गरेको थियो ।
लामो समयपछि सामुहिक अभ्यासमा फर्किन पाउँदा खेलाडीहरु निकै उत्साहित देखिएका छन् ।
'हरेक दिन क्रिकेटको लागि उत्तिकै उत्साह हुन्छ, तर यो पटक लामो समयपछि त्यसमा पनि न्यु नर्मल हुने भएकाले थप उत्साहित छौं,' राष्ट्रिय टिमका सदस्य सुवास खकुरेल भन्छन्, 'यस्तो महामारीको बेला सबै सावधानी अपनाएर क्रिकेट फर्काउने क्यानलाई धन्यबाद पनि दिन्छौं ।'
अन्तराष्ट्रिय क्रिकेटको तालिका नभएपनि बन्द प्रशिक्षण सुरु गराउनु क्यानले सकारात्मक भूमिका निर्वाह गरेको सुवास ठान्छन् ।
'अहिलेसम्म अन्तराष्ट्रिय खेल तालिका सार्वजनिक भएको छैन । सुन्नमा आएको आउने मार्चमा हुन सक्छ । खेल आउन समय हुँदा पनि क्याम्प सुरु गर्नु राम्रो कुरा हो । यसले खेलाडीमा निखार ल्याउँछ,' सुवासले भने ।
क्यानले यस अघि अन्तराष्ट्रिय क्रिकेट अघि एक महिने क्याम्प राख्ने गरेको थियो । तर, यस पटक क्यानले अन्तराष्ट्रिय प्रतियोगिता नभएपनि टिमको तयारी गर्न लागेको हो ।
यस्तै सुवासले खेलाडीलाई केहि दिनको क्वारेन्टिनमा राखेर तयारी गर्दा कोरोना संक्रमणको डर कम हुने बताए ।
'कोरोनाको लक्षण देखिन ५-६ दिन लाग्ने भनिएको छ । तर, हामी आएको भोलीपल्ट पीसीआर गराउने अनि रिपोर्ट आएको भोली क्याम्प बस्ने हुँदा केही डर हुन्छ । कम्तिमा ५ दिन आइसोलेसनमा राखेर अभ्यासमा फर्काएको भए राम्रो हुने थियो,' उनले भने ।
राष्ट्रिय टिमका पूर्व कप्तान कप्तान पारस खड्काले चुनौतीको बाबजुत क्रिकेट फर्किन लागेकोमा खुशी व्यक्त गरे ।
'क्रिकेट भन्नु साथ उत्साह भईहाल्छ । आवश्यक सावधानी अपनाएर क्याम्प सुरु गर्न लागिएको छ । लामो समय भएको छ प्रतिस्पर्धात्मक क्रिकेट नखेलेको । यस समय आफ्नो खेलाडी साथीहरु भेट्ने समय पनि हो । मैदानमा नखेले पनि सबैले घरैमा अभ्यास गरेका छौँ । अब मैदान फर्कन पाउँदा खुशी लागेको छ,' पारस भन्छन् ।
पारसले यस बन्द प्रशिक्षण खेलाडीका लागि आफ्नो लयलाई फर्काउने अवसर भएको समेत बताए ।
'अहिले बल्ल बल्ल सबै खेलाडीले अभ्यास गर्ने माहोल बनेको छ । लयमा फर्किने बाटो बनेको छ । यो हामी मात्र नभएर हाम्रो भविष्यसँग जोडिएको छ,' पारसले भन, 'हामीले एकदिवसीय मान्यता जोगाउनु छ । चुनौतीको बाबजुद क्रिकेट फर्किएको छ । अभ्यास गर्न पाउने भएका छौं। आशा छ हरेकले यसलाई आफ्नो आकारमा आउने मौकाको रुपमा लिनुहुनेछ ।'
पारसले खेलाडी र उसको परिवारको स्वास्थ्यलाई मध्यनजर गर्दै सबैले सावधानी अपनाउनु पर्ने समेत बताए ।
'खेलाडी भन्दा पहिले ब्यक्ति हो, उसको परिवार हुन्छ । आशा छ सबै खेलाडीहरुले घरमा हुँदा सावधानी अपनाउनु भएको थियो । त्यसैले लाग्छ सबै सुरक्षित हुनुहुन्छ । सबैको पीसीआर रिपोर्ट नेगेटिभ आओस,' पारसले भन्छन्, 'क्यान तथा खेलाडीले आवश्यक सावधानी र मापदण्डमा बस्नु पर्यो । कोभिडसँग भाग्न सक्ने अवस्था र भगाउन सक्ने क्षमता छैन । क्याम्प सुरु हुन लागेको छ अब खेलाडीले समेत आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्छ । क्यानले समेत आवश्यक प्रोटोकल पुरा गर्नु पर्छ ।आशा गरौँ सबैले आफ्नो जिम्मेवारी पुरा गर्नु हुनेछ ।'
यस्तै चोटका कारण लामो समयबाट क्रिकेट बाहिर रहेका ब्याट्सम्यान शरद भेषवाकरले क्याम्पमा बस्न निकै उत्साहित भएको बताए ।
'लामो समयपछि र न्यु नर्मलमा क्याम्पमा बस्न पाउँदा उत्साहित छौं । खेलाडीलाई लयमा फर्कन समय लाग्छ । अन्तराष्ट्रिय तालिका नहेरी क्याम्प सुरु गर्दा खेलाडी लयमा आउने छन्,' शरदले भने ।
शरदले सबैले कोरोनाविरुद्धको प्रोटोकल पालना गरे संक्रमणको डर नहुने समते बताए ।
'क्यानले मेडिकल टिमसँग सहकार्य गर्दै क्याम्प अघि बढाउनेमा विश्वास छ । संसार भर अहिले प्रयोगात्मक क्षणमा छ कोभिडको औषधि । त्यसैले केही भन्न सकिने अवस्था छैन । विश्व स्वस्थ संगठन, आईसीसी र सरकारको प्रोटोकल पालना गर्दै अघि बढ्नु पर्छ,' शरदले भने ।
प्रशिक्षणमा बोलाइएका खेलाडीहरु :
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, कारण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसार भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की
प्रशिक्षक : जगत बहादुर टमटा






-1774280237611.jpeg&w=3840&q=75)


-1774350920804.jpeg&w=3840&q=75)




