एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई ठुला क्लब म्यानचेस्टर सिटी र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ ।
'इन्टरनेसनल ब्रेक' पछिको पहिलो खेलमा सिटीले टोटेनहमसँग खेल्न लागेको हो । टोटेनहमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति ११:१५ बजे सुरु हुनेछ ।
टोटेनहमको मैदानमा सिटी जित निकाल्ने योजनामा हुनेछ । यस सिजन उत्कृष्ट प्रदर्शन गर्न असफल सिटी लिगको दशौँ स्थानमा रहेको छ ।
सिटीले ७ खेलमा १२ अंक मात्र जोडेको छ । तर, टोटेनहमलाई हराएर सिटी अंक तालिका सुधार गर्न चाहन्छ ।
टोटेनहमविरुद्ध सर्जियो अग्युरो र रहिम स्ट्रर्लिङ मैदान उत्रने सम्भावना रहेको छ । चोट बोकेका उनीहरु सिटीको अभ्यासमा फर्कीसकेका छन् ।
तर, बलियो टोटेनहमविरुद्ध जित निकाल्न सिटीलाई सहज भने हुने छैन ।
टोटेनहम ८ खेलमा १७ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
घरेलु मैदानमा टोटेनहम सिटीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
टोटेनहम शीर्ष स्थानको लेष्टर भन्दा एक अंकले पछि रहेको छ ।
यस्तै चेल्सीले न्युकासल युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
म्यानचेस्टर युनाईटेडले वेस्ट ब्रुमसँग घरेलु मैदानमा खेल्नेछ ।
अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनसँग खेल्नेछ ।