एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले आज भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ ।
रियलले भ्यालेन्सियासँग उसैको मैदानमा खेल्नेछ । रियल र भ्यालेन्सियाबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
भ्यालेन्सियाको भ्रमण गर्दा रियल जितको खोजीमा हुनेछ । रियल ७ खेलमा १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
तर, भ्यालेन्सियाविरुद्ध रियलका दुई खेलाडी खेल्ने छैनन् ।
मिडफिल्डर इडेन हाजार्ड र कासिमिरोले भ्यालेन्सियासँगको खेल गुमाउने छन् । दुबै खेलाडी कोरोना देखिएपछि सेल्फ आईसोलेसनमा बसेका छन् ।
घरेलु टिम भ्यालेन्सिया भने ८ खेलमा ८ अंक जोडेर १५ औं स्थानमा रहेको छ । भ्यालेन्सिया घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार्ने योजनामा रहेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा रियल सोसिडाडले ग्रानडासँग खेल्नेछ । दोस्रो स्थानमा रहेको सोसिडाडको १७ अंक रहेको छ । पाँचौं स्थानको ग्रानडाको १४ अंक रहेको छ ।
त्यस्तै गेटाफेले भिल्ला रियलसँग खेल्दा लेभान्टेले डिपोर्टिभो अलाभेससँग खेल्नेछ ।