काठमाडौं । मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आजबाट ढाकामा प्रशिक्षण थाल्ने भएको छ ।
गत बिहीबार ढाका पुगेको नेपाली टिमको कोरोना रिर्पाट नेगेटिभ आएसँगै प्रशिक्षण सुरु गर्न लागिएको हो ।
नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले आजबाट नेपाली टिमले प्रशिक्षण सुरु गर्ने जानकारी दिए ।
उनका अनुसार नेपालले स्थानिय समय अनुसार साढे १० बजेबाट प्रशिक्षण सुरु गर्नेछ ।
नेपाली टिमले शेख जमल रंगशालामा ४ दिन प्रशिक्षण गर्ने छन् ।
यस अघि नेपाली टिमले प्रशिक्षणको अनुमति पाएको थिएन । नेपाली टिम होटलमै क्वारेन्टिनमा रहेको थियो ।
तर, शनिबार २५ खेलाडीसहित अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाललाई प्रशिक्षणको अनुमति मिलेको हो ।
अब नेपाली टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेल अघि पुन: एक पटक कोरोना परिक्षण गर्ने छन् ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाल र बंगलादेशबीचको दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा आयोजना हुनेछ । मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण समेत हुने बताईएको छ ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन । २०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश समूह ‘ई’ मा रहेको छ ।