एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले रेनसलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारियाले दुई गोल गरे । मोइज किनले थप एक गोल गरे ।
चोटका कारण दुई मुख्य खेलाडी नेयमार र केलियन एमबाप्पे बिना मैदान उत्रिए पनि पीएसजीले सहज जित निकालेको हो ।
खेलको ११ औं मिनेटमा किनको गोलबाट पीएसजीले अग्रता बनाएको थियो ।

खेलको २१ औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा डी मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।
जितसँगै पीएसजीले आफ्नो शीर्ष स्थानको अग्रता कायम राखेको छ ।
पीएसजीले १० खेलमा २४ अंक जोडेको छ ।
१० खेलमा १८ अंक जोडेको रेनस तेस्रो स्थानमा रहेको छ ।