एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले बलियो प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
डर्टमण्डको मैदानमा बायर्नलाई जित दिलाउन डेभिड अल्बा, रोबर्ट लेवान्डोस्की र लोरी सानेले एक एक गोल गरे ।
डर्टमण्डका मार्को रिउस र अर्लिङ हालाण्डले एक एक गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता भने डर्टमण्डले बनाएको थियो । खेलको ४५ औं मिनेटमा रिउसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसअघि २४ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपनि भीएआरमा अफसाइड देखिएको थियो ।
तर, पहिलो हाफको इन्जुरी समयमा बायर्नका अल्बाले गोल गरेपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो ।
खेलको ४८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।
८० औं मिनेटमा सानेले गोल गर्दा बायर्नको अग्रता ३-१ को बन्यो ।

त्यसपछि खेलको ८३ औं मिनेटमा हालाण्डले एक गोल फर्काएपनि बायर्न ३-२ ले विजयी भयो ।
यस्तै खेलको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गरेपनि पुन: अफसाइड देखिएको थियो ।
जितसँगै बायर्नले शीर्ष स्थान यथावत राखेको छ । बायर्नले ७ खेलमा १८ अंक जोडेको छ ।
डर्टमण्ड ७ खेलमा १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
