एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) म्यानचेस्टर युनाईटेड र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ ।
युनाईटेडले घरेलु मैदानमा चेल्सीको सामना गर्नेछ । युनाईटेड र चेल्सीबीचको खेल नेपाली समय अनुसार १०:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा युनाईटेड चेल्सीलाई हराउने लक्ष्यमा हुनेछ । तर, बलियो चेल्सीलाई हराउन युनाईटेडलाई कठिन देखिएको छ ।
युनाईटेडलाई घरेलु मैदानको फाइदा भने हुनेछ । यस सिजन मिश्रित नतिजा निकाल्दै आएको युनाईटेडले ४ खेलमा ६ अंक जोडेको छ ।
तर, १५ औं स्थानमा रहेको युनाईटेड चेल्सीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
चेल्सीविरुद्ध युनाईटेडका फरवार्ड एडिनसन काभानीले डेब्यु गर्ने सम्भावना रहेको छ । उनी फ्रेन्च क्लब पीएसजीबाट युनाईटेड आएका हुन् ।
यस्तै ह्यारी मग्वाएर र मासन ग्रीनउड टिममा फर्कने छन् । तर, एन्थोनी मार्सियलले चेल्सीसँगको खेल गुमाउने छन् ।
यस समरमा स्टार खेलाडी अनुबन्ध गर्न सफल चेल्सीले ५ खेलमा ८ अंक जोडेको छ । तालिकाको नवौं स्थानमा रहेको चेल्सीले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन ।
तर, ओल्ड ट्राफोर्डमा बलियो युनाईटेडलाई हराएर चेल्सी अंक तालिका सुधारको योजनामा हुनेछ । युनाईटेडविरुद्ध चेल्सीका गोलकिपर केपाले खेल्ने सम्भावना कम छ ।
तर, मुख्य प्रशिक्षक् फ्रान्क लाम्पार्डले हाकिम जियाचलाई सुरुवातमै मैदान उतार्ने सम्भावना रहेको छ ।