एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन मंगलबारबाट सुरु हुँदैछ ।
युरोपियन क्लब फुटबलकै प्रतिष्ठित प्रतियोगिता जित्न सबै क्लब लालायित हुने छन् ।
यस्तोमा समूह चरणमा कुन क्लबले कस्तो प्रदर्शन गर्ला ?
निकै कौतुहलताको विषय बनेको छ ।
समूह चरणमा कुन क्लबले कस्तो प्रदर्शन गर्ला त ?
तल विश्लेषण गरिएको छ ।
समूह 'ए'
यस समूहको भविष्य साल्जबर्गको प्रदर्शनमा निर्भर हुनेछ । गत सिजन समूह चरणमा साल्जबर्गले १६ गोल गर्दै निकै आक्रामक खेल प्रर्दशन गरेको थियो । साल्जबर्गले गत सिजन उत्कृष्ट प्रदर्शन गर्दा इर्लिङ हालाण्डको भूमिका अहम रहेको थियो ।
यद्दपी हालाण्ड साल्जबर्ग छाड्दै जर्मन क्लब बोरुसिया डर्टमण्डमा आबद्ध भएका छन् । यस पटक हालाण्ड बिनाको साल्जबर्ग कत्तिको प्रभावकारी रहन्छ हेर्न बाँकी छ ।
साविक विजेता बायर्न म्युनिखले यस समूहबाट समूह चरण सहजै पार गर्ने देखिन्छ ।
रुसी क्लब लोकमोटिभ मस्कोको मुख्य खेलाडी अलेक्सी मिरञ्चुकको सरुवा एटलान्टामा भएको छ । जसको कारण पनि यस समूहबाट मस्कोको समूह चरण पार गर्ने आशा हराएको देखिन्छ ।
डिएगो सिमोन नेतृत्वको एट्लेटिको मड्रिड च्याम्पियन्स लिगमा निरन्तर रुपमा राम्रो प्रदर्शन गर्ने टिम हो । उत्कृष्ट डिफेन्स र काउन्टर अट्याकको प्रभावकारी क्षमता सिमोन नेतृत्वको एट्लेटिकोमा रहेको छ ।
यस समूहमा रहेका टिमहरुलाई हेर्दा एट्लेटिकोलाई समूह चरण पार गर्न खासै समस्या नहुने अनुमान गर्न सकिन्छ।

समूह 'बी'
च्याम्पियन्स लिगमा रियल मड्रिड विश्वमा एक स्थायी विजेताको रुपमा चर्चित टिम हो ।
यद्दपी पछिल्ला वर्षहरुमा 'हाई प्रेसिङ' टिमहरुले मड्रिडमाथि निरन्तर दबाब कायम राख्दै जित हात पारेको देखिन्छ । गत सिजन रियललाई म्यानचेस्टर सिटीले हराएको थियो ।
एन्टोनियो कोन्टे नेतृत्वको इन्टर मिलानले गत वर्ष 'हाई प्रेसिङ' शुत्रबाटै युरोपा लिगको फाईनलसम्म पुग्न सफल भएको थियो । यस वर्ष केही राम्रा खेलाडी थपेर इन्टर मिलानले आफुलाई थप मजबुत बनाएको देखिन्छ ।
शाख्तर डोनेस्क भने यस समूहको 'डार्क हर्स' टिमको रुपमा देखिएको छ । तर, अन्य टिमको उपस्थितिले शाख्तर असफल टिम हुने अनुमान गरिन्छ ।
बोरुसिया मन्छेनग्लाडबाख जर्मनीको उत्कृष्ट टिम हो । यस टिमलाई समूह चरण पार गर्ने सम्भावित टिमको रुपमा हेरिएको छ ।
समूह 'सी'
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाका बारेमा धेरै प्रश्नहरू सिर्जना भएका छन् । उनको अन्तिम च्याम्पियन्स लिग उपाधि १० सिजन अघि अघि रहेको छ ।
पछिल्ला केहि वर्षमा पेपलाई मेस्सीको सहयोग बिना च्याम्पियन्स लिग जित्न नसक्ने प्रशिक्षक तथा च्याम्पियन्स लिगमा फ्लप जस्ता आरोप लाग्ने गरेको छ ।
पेपलाई सिटीले च्याम्पियन्स लिग जित्नकै लागि भनेर ल्याएको थियो । तर,पेपले करोडौं पाउण्ड खर्चेर समेत सिटीलाई च्याम्पियन्स लिगको सेमिफाइनल पार गराउन सकेका छैनन् ।
च्याम्पियन्स लिग ईतिहासमा सर्वाधिक खर्च गर्ने दुई टिम सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) हुन् । तर, दुबै टोली च्याम्पियन्स लिग जित्न सफल भएका छैनन् ।
सिटी त च्याम्पियन्स लिग इतिहासमै फाइनल पुग्न सकेको छैन । पेपले ठुला टिमसँगको खेलमा फरक खेल खेलाउने गर्छन । यसै कारणले गर्दा उनको टिमले नतिजा निकाल्न सकेका छैनन् ।
यद्दपी यस समूहका अन्य टिम हेर्दा सिटीले सहजै समूह चरण पार गर्ने अनुमान गर्न सकिन्छ ।
मार्सेलीले निरन्तर सुधार गर्दै आएका छन् । पोर्टोको ट्रान्सफर विन्डो निकै राम्रो रह्यो ।
ग्रीक च्याम्पियन ओलम्पियाकोसले गत सिजन युरोपा लिगमा टोटेनहम, आर्सनल र उल्भ्सलाई हैरान बनाएको थियो । त्यसैले ओलम्पियाकोसले सबै टिमलाई अप्ठ्यारो पार्ने देखिन्छ ।

समूह 'डी'
लिभरपुलको अघिल्लो च्याम्पियन्स लिग यात्रा एट्लेटिको मड्रिडसँगको हारबाट टुंगिएको थियो । गत वर्षको लिभरपुलको हार निकै दुर्भाग्यपूर्ण रह्यो ।
स्टार गोलकिपर एलिसन बेकर घाईते हुँदा एड्रियनले गोलकिपीङ गरेका थिए । उनैले गरेका दुई गल्तिको कारणले गर्दा एट्लेटिकोले जित हात पार्यो ।
तर, यस वर्ष थियागो र जोटा जस्ता खेलाडी अनुबन्ध गरेको लिभरपुल अझ बलियो बनेको छ । लिभरपुलले समूह चरण सहजै पार गर्ने देखिन्छ ।
आयाक्स सधै बलियो टोलीको रुपमा रहदै आएका छन् । यस वर्ष पनि निकै प्रतिभाशालि रहेको छ ।
यद्दपी डोनी भ्यान डे बेक, हाकिम जियाच र अमेरिकी डिफेन्डर सर्जिनो डेस्टले क्लब छाडेको कारण केहि कमजोर बनेको अनुमान गर्न सकिन्छ ।
यस समूहको मनोरन्जनकर्ता टिम एटलान्टा रहेको छ । गत सिजनको समूह चरणमा एटलान्टाले निकै आक्रामक खेलेको थियो । यस पटक एटलान्टाले समूह चरण पार गर्ने देखिन्छ ।
डेनिस क्लब मिजेटल्यान्ड समूह चरणबाटै बाहिरिने देखिन्छ ।

समूह 'इ'
निकै हाई प्रोफाइल खेलाडी खरिद गरेको चेल्सीले सहजै समूह चरण पार गर्ने देखिन्छ । तर, समूह चरण भन्दा माथिका खेलमा चेल्सी डिफेन्सको कारण पराजित हुने प्रवल सम्भावना रहेको छ ।
सेभिया युरोपा लिग विजेता हो । ईभान राकिटिचले सेभियालाई अझै मजबुत बनाएका छन् । सेभियालाई चेल्सी बाहेक अन्य क्लब कठिन हुने देखिदैन ।
यस समूहबाट रेनेस र क्रासनोडार पहिलो पटक समूह चरणमा सहभागी हुँदा दोस्रो चरण पुग्ने सम्भावना कम रहेको छ ।

समूह 'एफ'
स्टार युवा खेलाडीले भरिएको बोरुसिया डर्टमण्डले समूह चरण सहजै पार गर्ने देखिन्छ । इर्लिङ हालाण्ड, जाडोन सान्चो जस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गरे डर्टमण्ड समूह विजेता हुने देखिन्छ ।
यस समूहमा दोस्रो स्थानको लागि लाजियो र जेनिटबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। यद्दपी जेनिटले रुस बाहिर खासै राम्रो प्रदर्शन नगर्ने हुँदा लाजियोले दोस्रो स्थान पाउने देखिन्छ ।
पछिल्ला २ वर्ष क्लब ब्रुगले समूह चरणमा तेस्रो स्थान हात पारे पनि यस वर्ष कठिन देखिन्छ ।

समूह 'जी'
लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्त यस वर्ष देखिने भएको छ । कारण समूह चरणमा बार्सिलोना र युभेन्ट्स भिड्ने छन् ।
यस समूहबाट क्याटलान क्लब र इटालियन जाइन्टले समूह चरण पार गर्ने अनुमान गरिएको छ ।
यस समूहमा बार्सिलोना र युभेन्ट्सलाई डाइनामो किभले टक्क दिने अनुमान गरिएको छ । हंगेरियन क्लब फेरेनकाभोसले सबै खेल गुमाउने अनुमान गरिएको छ ।

समूह 'एच'
यस समूहलाई ग्रुप अफ डेथ मानिएको छ । यस समूहमा गत सिजनको फाइनलिस्ट टिम पीएसजी र सेमिफाइनल पुगेको आरबी लाइपजिग रहेका छन् ।
यस्तै म्यानचेस्टर युनाईटेड र इस्तानबुल रहेको छ ।
पीएसजीले फ्रान्स र लाइपजिगले जर्मनीमा उत्कृष्ट खेल्दै आएको छ । गत सिजनको प्रदर्शन हेर्दा समेत दुबै टिमलाई समूह चरण पार गर्ने टिमको रुपमा हेरिएको छ ।
पीएसजी र लाइपजिगको तुलनामा युनाईटेडलाई कमजोर आकिएको छ । यस्तै इस्तानबुललाई समूहको पुछारमा रहने टिमको रुपमा हेर्न सकिन्छ ।