एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा आज (मंगलबार) स्पेनिस क्लब बार्सिलोना र हंगेरियन क्लब एफटिसीबीच प्रतिस्पर्धा हुँदैछ ।
क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा एफटिसीसँग खेल्नेछ । समूह 'जी' मा रहेको बार्सिलोना र एफटिसीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा बार्सिलोना जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, एफटिसीविरुद्ध जित निकाल्न बार्सिलोनालाई सहज भने हुने छैन ।
बार्सिलोनाका लागि हंगेरियन क्लब नौलो प्रतिद्वन्दी समेत हो । त्यसैले पहिलो खेल बार्सिलोनाका लागि सहज हुने छैन ।
यस्तै बार्सिलोना यस सिजन लयमा देखिएको छैन । बार्सिलोनाले ला लिगामा समेत उच्च प्रदर्शन गर्न सकेको छैन ।
गत साता मात्रै बार्सिलोना गेटाफेसँग पराजित भएको थियो ।
तर, मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले घरेलु मैदानमा टिमले उत्कृष्ट खेल्ने विश्वास व्यक्त गरेका छन् ।
च्याम्पियन्स लिगमा बार्सिलोनाका लागि कोम्यानको डेब्यु समेत हो ।
लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रने बार्सिलोनालाई अन्सु फाती, एन्टोनियो ग्रिजम्यान लगायतका खेलाडीको साथ रहनेछ ।
यसै समूहमा इटालियन क्लब युभेन्ट्स समेत रहेको छ । क्रिस्टियानो रोनाल्डो रहेको युभेन्ट्सले युक्रेनी क्लब डाइनामो किभसँग खेल्ने छ ।