एजेन्सी । मिडफिल्डर आन्द्रे हेरेराले पाउल पोग्बासंग बालेन डी'ओर जित्ने सबै चिज रहेको बताएका छन् ।
पूर्व सहकर्मीको बारेमा हेरेराले भविष्यमा पोग्बासंग बालेन डी'ओर जित्ने सबै क्षमता रहेको बताएका हुन् ।
पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डरले पूर्व क्लबविरुद्ध च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा मंगलबार प्रतिस्पर्धा गर्दैछन् ।
३१ वर्षिया हेरेराले सन् २०१९ मा युनाइटेड छाडेका थिए ।

‘त्यहाँ उनी जस्तो अरु कोही छैन । एक–एक जना बीच हुने प्रतिस्पर्धा होस वा बक्सदेखि बक्समा बल लैजाने बिषय होस ।’ हेरेराले भने ।
‘उनीसंग बालेन डी'ओर जित्नका लागि चाहिने सबै चिज छ । यदी उनको क्लबले मुख्य उपाधिको लागि प्रतिस्पर्धा गरेको खण्डमा ।’ उनले थपे ।
२७ वर्षिया विश्वकप विजेता पोग्बाले यस सिजन सबै प्रतियोगितामा ४ खेलमा मात्र प्रतिस्पर्धा गरेका छन् । उनले लिग कपको चौथो चरणमा ब्राइटोनविरुद्ध प्राप्त ३–० को जितमा एक गोल गरेका थिए ।
हेरेराले युनाइटेडमा ५ वर्षको अन्तरमा चार उपाधि जितेका थिए । वर्तमान टोली आफुले खेल्ने समय भन्दा अझ बढी परिपक्क रहेको हेरेराको भनाई छ ।
‘त्यहाँ धेरै प्रतिभाहरु रहेका छन् । एकरुपको प्रर्दशन छ । ब्रुनो फर्नान्डेजको उपस्थितीमा उनीहरुले थप सुधार गरेका छन् ।’ उनले भने ।
‘युनाइटेडले सुधार गरिरहेको छ । उनीहरुले सही खेलाडी छनोट गरेका छन् । मलाई लाग्दैन, उनीहरु पछाडी गईरहेका छन् ।’ हेरेराले भने ।
सन् २०१९ को मार्चमा पीएसजीले युनाइटेडसंग च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रतिस्पर्धा गरेको थियो । युवा खेलाडीबाट प्रेरित युनाइटेडले २–० ले पछि रहेको अवस्थालाई उल्ट्याउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।
मार्कुस रासफोर्डले इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै अवे गोलका आधारमा युनाइटेडलाई अन्तिम ८ को यात्रा तय गराएका थिए ।