एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज (आइतबार) बेल्जियम र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह चरणको तेस्रो खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्न लागेका हुन् । बेल्जियम र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
वेम्बली स्टेडियममा बेल्जियम इंग्ल्यान्डलाई हराएर लगातार तेस्रो जित निकाल्ने योजनामा हुनेछ । सुरुवाती दुई खेलमा अपराजित बेल्जियम ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
लिग 'ए' समूह २ को बेल्जियमले पहिलो खेलमा डेनमार्कलाई २-० ले हराएको थियो । यस्तै दोस्रो खेलमा बेल्जियमले आइसल्याण्डलाई ५-१ ले हराएको थियो ।
यता, घरेलु टिम इंग्ल्यान्ड भने बेल्जियमलाई हराएर दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । इंग्ल्यान्ड २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
इंग्ल्यान्डले पहिलो खेलमा आइसल्याण्डलाई १-० गोल अन्तरले हराएको थियो । तर, इंग्ल्यान्ड दोस्रो खेलमा डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
यसै समूहको अर्को खेलमा डेनमार्क र आइसल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
नेसन्स लिग अन्तर्गत नै नर्वेले रोमानियासँग खेल्दा रुस र टर्कीबीच खेल हुनेछ ।