एजेन्सी । नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजालले उत्कृष्ट प्रदर्शन गरेपछि आईलिग छनोटमा मोहम्मेदन स्पोर्टिङ क्लबले लगातार दोस्रो जित निकालेको छ ।
कोलकत्ताको बिवेकानन्द युवा भारती मैदानमा आइतबार अभिषेक चम्किदा एआरए एफसीलाई ४-१ गोल अन्तरले पराजित गर्दै मोहम्मेदनले लगातार दोस्रो जित निकालेको हो ।
मोहम्मेदनको जितमा अभिषेकले दुई गोल गरे । यस्तै विलिस प्लाजा र एसके फयाजले एक एक गोल गरे । एआरएले एक गोल आत्मघाती उपहार पाएको थियो । मोहम्मेदनका डिफेन्डर सफिउल रहमानले आत्मघाती गोल गरेका थिए ।
खेलको १२ औं मिनेटमा प्लाजाले गोल गर्दै मोहम्मेदनलाई अग्रता दिलाएका थिए । २० औं मिनेटमा अभिषेकले गोल गर्दै टोलीको अग्रता २-० को बनाए । उनले पोष्ट नजिकै पाएको पासलाई सदुपयोग गरेका थिए ।
खेलको ४४ औं मिनेटमा अभिषेकले व्यक्तिगत दोस्रो गोल गर्दा मोहम्मेदनले पहिलो हाफमा ३-० को अग्रता बनायो ।
खेलको ५५ औं मिनेटमा रहमानले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेपछि खेल ३-१ स्थितिमा आयो ।
त्यसपछि खेलको ८८ औं मिनेटमा फयाजले गोल गर्दै मोहम्मेदनलाई ४-१ को जित दिलाए ।
एआरएबाट खेलिरहेका नेपाली यू-२३ टिममा सदस्य राजेश परियारले भने दोस्रो हाफमा डेब्युको अवसर पाए । राजेश खेलको ८४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
जितसँगै मोहम्मेदन शीर्ष स्थानमा उक्लिएको छ । २ खेलमा मोहम्मेदनले ६ अंक रहेको छ । एआरएले भने हारबाट सिजनको सुरुवात गरेको छ ।