एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज (आइतबार) साविक विजेता पोर्चुगल र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह चरणको तेस्रो खेलमा पोर्चुगल र फ्रान्स भिड्न लागेका हुन् । फ्रान्समा हुने दुई टोलिबीचको खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ ।
क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रने पोर्चुगल गरेलु टोलीलाई हराएर लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
अघिल्ला दुई खेलमा २ जित निकालेको पोर्चुगल ६ अंक जोडेर लिग 'ए' को समूह तीनको शीर्ष स्थानमा रहेको छ ।
पोर्चुगलले पहिलो खेलमा क्रोएसियालाई ४-१ ले हराएको थियो । यस्तै दोस्रो खेलमा स्विडेनलाई २-० ले हराएको थियो ।
यता, फ्रान्स पनि अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ । विश्वकप विजेत फ्रान्स अघिल्ला २ खेलमा अपराजित रहेको छ ।
समूहमा ६ अंक जोडेको फ्रान्स गोल अन्तरमा पछि पर्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।
फ्रान्सले पहिलो खेलमा स्विडेनलाई १-० ले हराएको थियो । यस्तै दोस्रो खेलमा क्रोएसियालाई ४-२ ले हराएको थियो ।
यसै समूहको अर्को खेलमा स्विडेन र क्रोएसियाबीच खेल हुनेछ । दुबै टिम पहिलो जितको खोजीमा हुनेछ ।
लिग 'ए' समूह १ को खेलमा इटालीले पोल्याण्डसँग खेल्नेछ ।
यस समूहमा २ खेलमा ४ अंक जोडेको इटाली शीर्ष स्थानमा रहेको छ । पोल्याण्ड ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले बोस्निया एण्ड हर्जगोबिनासँग खेल्नेछ ।