एजेन्सी । भारतीय आईलिग छनोटमा नेपाली यू-२३ टोलीका सदस्य अभिषेक रिजाल र राजेश परियार आबद्द टिमले आज (आइतबार) प्रतिस्पर्धा गर्दैछन्।
आईलिग छनोटको दोस्रो दिन अभिषेक सम्मिलित मोहम्मेदन स्पोर्टिङ क्लब र राजेश सम्मिलित एआरए एफसी भिड्न लागेका हुन् ।
मोहम्मेदन र एआरएबिचको खेल पौने १ बजे सुरु हुनेछ ।
आईलिगमा राजेशको पहिलो खेल हो । एआरएको समेत पहिलो खेल हो ।
अभिषेकको भने यो दोस्रो खेल हुनेछ । तर, दुबै नेपाली युवा खेलाडी प्लेईङ सेटमा पर्न संघर्ष गर्नेछन् ।
पहिलो खेलमा मोहम्मेदनले गढ्वाल एफसीको सामना गरेको थियो । भारतीय डिफेन्डर मुनमुन लुगुनले अन्तिम समयमा गोल गर्दा मोहम्मेदनले महत्वपुर्ण तीन अंक हासिल गरेको थियो ।
अभिषेकले खेलको ८२ मिनेटपछि मात्रै मोहम्मेदनबाट डेब्यु गर्ने अवसर पाएका थिए ।
कोलकत्ताको बिवेकानन्द युवा भारती मैदानमा दुबै टिम तीन अंक हासिल गर्न चाहन्छन । मोहम्मेदन लगातार दोस्रो जित निकाल्न चाहन्छ भने एआरए सुखद् विजयी सुरुवात गर्न चाहन्छ ।
दुबै टिमका प्रशिक्षकले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
‘पहिलो खेलमा निकै अवसर गुमायौं । हामीले अभ्यासमा सुधार गर्ने प्रयास गरेका छौं । हामी तीन अंकका लागि खेल्छौं,’ मोहम्मेदनका मुख्य प्रशिक्षक यान लले भने ।
यस्तै एआरएका प्रशिक्षक बिवेक नागुलले मोहम्मेदन निकै राम्रो टिम रहेको बताउँदै हरेक खेल महत्वपूर्ण भएकाले ३ अंकका लागि खेल्ने बताए ।
‘मोहम्मेदन निकैनै राम्रो टिम हो । सबै खेल फाइनल सरह छन् । हामी प्रत्येक खेल तिन अंकका लागि खेल्छौं,’ उनले भने ।