लाइपजिगले अनुबन्ध गर्यो क्रोएसियन डिफेन्डर
२०२० सेप्टेम्बर २९, मङ्गलबारखेलपाटी संवाददाता

एजेन्सी । जर्मन क्लब आरबी लाइपजिगले क्रोएसियाका डिफेन्डर जोस्को गभार्डीओललाई अनुबन्धित गरेको छ ।
बुन्डेसलिगा क्लब लाइपजिगले डिफेन्डर जोस्कोलाई क्रोएसियन क्लब डाइनामो जाग्रेबबाट अनुबन्धित गरेको हो ।
१८ वर्षीय डिफेन्डरले लाइपजिगसँग ६ वर्षको सम्झौता गरेका छन् । उनी २०२६ सम्म लाइपजिगमा रहने छन् ।
तर, उनले यस सिजन भने डाइनामोबाटै खेल्ने छन् । लाइपजिगले एक सिजनका लागि उनलाई लोनमा डाइनामो पठाएको हो ।
गत सिजन डाइनामोको सिनियर टिममा डेब्यु गरेका उनले क्लबका लागि १३ खेल खेलेका छन् ।
उनले क्रोएसियाका लागि सबै उमेर समूहबाट खेलिसकेका छन् ।