एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र आगामी अर्ली निर्वाचनलाई लिएर विवाद चर्किएको छ। एन्फा कार्यसमितिका केही पदाधिकारी तथा सदस्यहरूले माघ २८ गते गर्ने भनिएको एन्फा निर्वाचनप्रति असहमति जनाउँदै अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बुधबार मेल र ह्वाट्स एपमार्फत पत्र पठाएका हुन्।
उपाध्यक्ष विराटजंग शाहीसहित कार्यसमितिका सदस्यहरू रविन्द्र चन्द र रुपेश अधिकारीले एन्फा अध्यक्ष नेम्वाङलाई सम्बोधन गर्दै बुझाएको पत्रमा एन्फा कार्यसमितिको पुस १६ गतेको निर्णयअनुसार अघि बढाइएको निर्वाचन प्रक्रिया विधानविपरीत, अलोकतान्त्रिक तथा स्वेच्छाचारी रहेको ठहर गरिएको छ।
‘अर्ली निर्वाचन पूर्णतः विधानविपरीत, अलोकतान्त्रिक तथा स्वेच्छाचारी तवरले गरिएको ठहर गर्दै उक्त निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दछौं। अतः सो निर्णय पुनरावलोकन गरी सबै सरोकारवाला पक्ष तथा कार्यसमिति सदस्यहरूबीच छलफत र सहमतिका आधारमा विधिपद्धति अनुसार नयाँ निर्वाचन मिति तय गर्न हार्दिक अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले पुस २२ गते एन्फा विधानमा आवश्यक संशोधन गरी स्वीकृत गरेको विधान तथा प्रचलित कानुनअनुसार साधारण सभा र निर्वाचन सम्पन्न गर्न दिएको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न माग गरिएको छ।
कार्यसमिति सदस्यहरूले हाल सचिवालयबाट सार्वजनिक गरिएको निर्वाचन तालिकासहित सम्पूर्ण निर्वाचन कार्यक्रम तत्काल स्थगित गर्नसमेत अनुरोध गरेका छन्। उनीहरूले तल्लो तहका सदस्यहरूको अधिकार सुनिश्चित गर्न, मताधिकार हनन हुन नदिन र भविष्यमा गलत नजिर स्थापित हुन नदिन सर्वमान्य साधारण सभा आवश्यक रहेको बताएका छन्।
पत्रमा दक्ष तथा योग्य व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्नु सम्पूर्ण नेतृत्वको साझा दायित्व भएको उल्लेख गर्दै नेपाली फुटबललाई सही दिशातर्फ अघि बढाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ। साथै वर्तमान कठिन परिस्थितिबाट एन्फालाई निकास दिन परिषद्को निर्देशनअनुसार संयुक्त पहल अपरिहार्य रहेको उल्लेख गरिएको छ।
उक्त पत्रको बोधार्थ एन्फा सचिवालय र एन्फा निर्वाचन समितिलाई समेत दिइएको छ।







-1767840835858.webp&w=3840&q=75)




