एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लगातार तेस्रो जित निकालेको छ ।
आइतबार राति म्यानचेस्टर सिटीलाई ५-२ गोल अन्तरले पराजित गर्दै लेष्टरले तेस्रो जित निकालेको हो ।
सिटीको मैदानमा एक गोलको अग्रता उल्टाएर लेष्टरले जित निकालेको हो ।
लेष्टरलाई जित दिलाउन जेमी भार्डीले ह्याट्रिक गरे । यस्तै जेम्स म्याडिसन र युरी टेलिमान्सले एक एक गोल गरे ।
सिटीका लागि रियाद महरेज र नाथन एकेले एक एक गोल फर्काए ।

इतिहाद स्टेडियममा चौंथो मिनेटमा महरेजले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाएका थिए ।
तर, ३७ औं मिनेटमा भार्डीले पेनाल्टीमा गोल गर्दै लेष्टरलाई १-१ गोलको बराबरीमा फर्काए । सिटीका डिफेन्डर केली वाल्कर पेनाल्टी क्षेत्रमा भार्डीलाई फउल गरेपछि लेष्टरले पेनाल्टी पाएको थियो ।
खेलको ५४ औं मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई २-१ को अग्रता दिलाए ।
खेलको ५८ औं मिनेटमा भार्डीले पेनाल्टीबाट तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा लेष्टर ३-१ ले अघि रह्यो। सिटीका एरिक ग्रासियाले पेनाल्टी क्षेत्रमा सोयुन्कुलाई फउल गरेपछि लेष्टर पेनाल्टी पाएको थियो ।

खेलको ७७ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेष्टरलाई ४-१ को अग्रता दिलाए ।
खेलको ८५ औं मिनेटमा सिटीका नाथन एकेले गोल गर्दै सिटीलाई ४-२ स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा टेलिमान्सले पेनाल्टीमा गोल गर्दै लेष्टरलाई ५-२ को सानदार जित दिलाए ।
सिटीका बेन्जामिन मेन्डीले म्याडिसनलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि लेष्टरले तेस्रो पटक पेनाल्टी पाएको थियो ।

जितसँगै लेष्टरले ३ खेलमा ९ अंक जोडेको छ । र, लेष्टर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
सिटीको यो पहिलो हार हो । लिगको १३ औं स्थानमा रहेको सिटीले २ खेलमा ३ अंक जोडेको छ ।
