एजेन्सी । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले लुईस सुआरेजलाई बाहिर पठाउने निर्णय क्लबको भएको बताएका छन् ।
उनले उरुग्वेका फरवार्ड प्रति आफ्नो सधै सम्मान रहने उल्लेख गरे ।
३३ बर्षका सुआरेज ला लिगा प्रतिद्धन्दी एट्लेटिको मड्रिडमा गएका छन् । उनले ६ बर्ष बार्सिलोनामा बिताएका थिए । उनलाई दुई बर्षका लागि एट्लेटिको मड्रिडले ६ मिलियन पाउण्डमा अनुबन्धन गरेको हो ।
बार्सिलोनासंग सुआरेजको सम्झौता एक बर्ष मात्र बाँकी थियो । उनलाई बेच्ने निर्णयमा लियोनल मेस्सीले चर्को असन्तुष्टि जनाएका थिए ।
बार्सिलोनाका कप्तान मेस्सीले सुआरेजलाई अपमानजनक रुपमा क्लब बाहिर निकालिएको बताएका थिए ।
कोम्यानले बार्सिलोनाको कमाण्ड सम्हाल्ने बित्तिकै सुआरेजलाई विकल्प खोज्न भनेका थिए । तर क्लबद्धारा प्रशिक्षक नियुक्त हुनु अघिनै उनलाई बेच्ने बार्सिलोनाको योजना थियो ।

‘यस फिल्ममा म सबैभन्दा खराब ब्यक्ति देखिएको छु । तर कुरा यस्तो हैन ।’ डच प्रशिक्षकले भनेका छन् ।
‘मैले उनीप्रति सम्मान देखाएको छु । पहिलो दिनदेखिनै खेलाडी र ब्यक्तिको रुपमा उनीप्रति मेरो सम्मान छ ।’ कोम्यानले भने, ‘मैले भनेको थिए, उनी बसेको खण्डमा उनलाई समय दिन गाह्रो हुनेछ । तर उनी रोकिए भने उनी टिमको हिस्सा हुनेछन् । त्यही कुरा मैले क्लबमा समेत बताएको थिए ।’
‘तर निर्णय क्लबले गरेको हो । प्रशिक्षकको रुपमा म आउनु अघिनै क्लबले यो निर्णय गरेको थियो । यहाँ धेरै युवा खेलाडी छन् । यो मैले मात्र लिएको निर्णय हैन, यसमा क्लब समेत सहभागी छ ।’ उनले थपे ।
लियोनल मेस्सीले समेत यस समर ट्रान्सफरमा आफुले क्लब छाड्न चाहेको बताएका थिए । उनले क्लबको बोर्डको आलोचना गर्दै आफुलाई बार्सिलोना बाहिर जान दिन अनुरोध गरेका थिए । मेस्सीले सुआरेजलाई बाहिर निकाल्ने निर्णयले आफुलाई कुनै आश्चार्यमा नपारेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
‘मलाई लाग्छ, यो सामान्य हो । जब लामो समय संगै रहेको साथी बाहिरिन्छ, उसलाई दुख लाग्छ ।’ मेस्सीको बिषयमा कोम्यानले भने ।
‘मुख्य कुरा मेस्सीले कसरी अभ्यास गर्छन् र खेल्छन् भन्ने हो । अभ्यासमा उनी सबैका उदाहरण हुन् । मैले कुनै दिन उनी प्रभावित बनेको देखेको छैन । मलाई लाग्दैन, लियोले अरु केही सोचेका छन् ।’ कोम्यानले भने ।
बार्सिलोनाले भिल्ला रियलसंग आईतबार साँझ खेल्दै ला लिगाको नयाँ सिजन सुरुवात गर्दैछ ।