एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा चेल्सी वेस्ट ब्रुमसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
वेस्ट ब्रुमको मैदानमा ३ गोलले पछि परेको स्थिति उल्टाएर चेल्सीले बराबरी खेलेको हो ।
चेल्सीका लागि मासन माउन्ट, कलुम हुडसन र टामी अब्राहमले एक एक गोल गरे । वेस्ट ब्रुमका कलुम रोबिनसनले दुई गोल गर्दा केली बार्टलीले एक गोल गरे ।

रोमान्चक बनेको खेलको पहिलो हाफमा वेस्ट ब्रुमले तीन गोल गरेको थियो । चौंथो मिनेटमा रोबिनसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
चेल्सीका कप्तान तथा डिफेन्डर थियागो सिल्भाको गल्तीको फाइदा उठाउदै २५ औं मिनेटमा रोबिनसनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
२७ औं मिनेटमा केलीले गोल गर्दा पहिलो हाफमै वेस्ट ब्रुम ३-० ले अघि रह्यो ।

तर, दोस्रो हाफमा फ्रान्क लाम्पार्टको चेल्सीले उत्कृष्ट पुनरागमन गर्यो ।
५५ औं मिनेटमा माउन्टले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए । ७० औं मिनेटमा हुडसनले गोल गर्दै चेल्सीलाई ३-२ को अवस्थामा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समय अब्राहमले गोल गर्दै चेल्सीलाई हारबाट जोगाए ।
बराबरीसँगै चेल्सीले ३ खेलमा ४ अंक जोडेको छ । चेल्सी तालिकाको छैटौं स्थानमा रहेको छ ।
चेल्सीले पहिलो खेलमा ब्राइटनलाई ३-१ ले हराएको थियो । तर, दोस्रो खेलमा चेल्सी लिभरपुलसँग २-० ले पराजित भएको थियो ।
वेस्ट ब्रुमको यो पहिलो अंक हो । वेस्ट ब्रुमले ३ खेलमा १ अंक जोडेको छ । वेस्ट ब्रुमले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो ।

