एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न चार खेल हुँदैछ ।
प्रिमियर लिगमा शनिबार चेल्सी, म्यानचेस्टर युनाइटेड, एभर्टन लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
चेल्सीले सिजनको तेस्रो खेलमा वेस्ट ब्रुमसँग खेल्दैछ । वेस्ट ब्रुमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
वेस्ट ब्रुमविरुद्ध मैदान उत्रदा चेल्सी दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
तुलनात्मक कमजोर टिम वेस्ट ब्रुमविरुद्ध जित निकाल्न चेल्सीलाई कठिन भने हुनेछ । किनकि घरेलु मैदानमा चेल्सीलाई हराएर वेस्ट ब्रुम पहिलो जित निकाल्न चाहन्छ ।
यस अघि चेल्सीले पहिलो खेलमा ब्राइटनलाई ३-१ ले हराएको थियो । तर, दोस्रो खेलमा चेल्सी लिभरपुलसँग २-० ले पराजित भएको थियो ।
११ औं स्थानमा रहेको चेल्सीले २ खेलमा ३ अंक जोडेको छ । अघिल्ला दुई खेलमा हारेको वेस्ट ब्रुम पुछारमा रहेको छ ।
यस्तै युनाइटेडले सिजनको दोस्रो खेलमा ब्राइटनसँग खेल्नेछ । ब्राइटनको मैदानमा हुने खेल साँझ ५:१५ बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध युनाइटेड जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।
ब्राइटन भने दोस्रो जितको खोजीमा हुनेछ । २ खेल खेलिसकेको ब्राइटनले एक जित र एक हार व्यहोरेको छ ।
यस्तै एभर्टनले क्रिस्टल प्यालेससँग खेल्नेछ । एभर्टन लगातार तेस्रो जितको खोजीमा हुनेछ ।
अर्को खेलमा साउथह्याम्पटनले बर्नलीसँग खेल्नेछ ।