एजेन्सी । कोरोना माहामारिका बीच दक्षिण एसियाली मुलुक भुटानमा शीर्ष डिभिजनको लिग जारी छ । कोरोना महामारीका कारण लिग सुरु हुने दक्षिण एसियाली मुलुकमा भुटान पहिलो देशमा पर्छ ।
भुटान फुटबल महासंघले कोरोना महामारिका बीच पनि शीर्ष डिभिजनको लिग जारी राखेको हो । भुटानमा सेप्टेम्बर ९ बाट लिग जारी छ । तर स्थानीय तहमा कोरोना फैलिएपछि भुटान सरकारले दोस्रो पटक लकडाउन गर्दा लिगलाई समेत असर गरेको थियो ।
यसै साताबाट लकडाउन अन्त्य भएसँगै भुटानको शीर्ष डिभिजनको लिग फर्किएको छ । विश्व स्वास्थ्य संघठन (डब्लुएचओ) ले खेलकुदका लागि बनाएको नियमानुसारनै लिग जारी छन् । ८ टिम सहभागी लिग दिवा रात्री दुवै समय हुँदै आएको छ ।
लिगमा दर्शक हुने छैनन् भने रेफ्रीले समेत खेल सुरु हुनु अघिसम्म मास्क लगाउनु पर्नेछ । खेलाडीको हकमा भने बेन्चमा रहनेले मास्क लगाउने छन् । तर मैदान भित्र प्रवेश गरेपनि रेफ्रीले ह्विसल फुक्नु अघिसम्म मास्क लगाउनेछन् । प्लेईङ एघार खेलाडीको हकमा भने सो रहेको छैन ।
चार मैदानमा चलिरहेको लिग अक्टोबर १२ मै सकिने भुटान प्रिमियर लिग आयोजकले जनाएको छ । यस अघिनै भुटान राष्ट्रिय टिमले समेत तयारी सुरु गरिसकेको थियो । तर लिग सुरु भएसँगै राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएको छ ।
सन् २०२० को लिगमा भने भुटानी लिगमा विदेशी खेलाडी हुने छैनन् । बाहिरी देशबाट आउने खेलाडीलाई सरकारले रोकेपछि महासंघले समेत विदेशी खेलाडीलाई स्थान दिएको छैन ।
यस अघि नेपाल यू–१९ टिमका कप्तान अर्पण कार्कीले पारो एफसीबाट सहभागीता जनाएका थिए ।
यता, नेपालमा भने खेलकुदका कुनैपनि कार्यक्रम सुरु भएका छैनन् । खेलकुद क्षेत्रका सरोकार निकाय मौन रहँदा सामान्य अभ्यास समेत सुरु हुन सकेको छैन ।