एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज (शनिबार) विभिन्न ९ खेलहरु हुँदैछ ।
नेसन्स लिगमा शनिबार साविक विजेता पोर्चुगल, इंग्ल्यान्ड, फ्रान्स, बेल्जियम, क्रोएसिया लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
पहिलो संस्करणको च्याम्पियन पोर्चुगलले क्रोएसियासँग खेल्दै नेसन्स लिगको सुरुवात गर्नेछ ।
पोर्टोमा हुने पोर्चुगल र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति १२:३० मा सुरु हुनेछ ।
लिग 'ए' को समूह ३ मा रहेको पोर्चुगल घरेलु मैदानमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
तर, विश्वकपको उपविजेता टिम क्रोएसियालाई हराउँन पोर्चुगललाई सहज भने छैन ।
यसै समूहको अर्को खेलमा विश्व विजेता फ्रान्सले स्विडेनसँग खेल्नेछ ।
स्विडेनको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:३० मा हुनेछ ।
इंग्ल्यान्डले आइसल्याण्डसँग उसैको मैदानमा खेल्नेछ । इंग्ल्यान्ड र आइसल्याण्डबीचको खेल नेपाली समय अनुसार राति ९:४५ मा सुरु हुनेछ ।
यस्तै बेल्जियमले डेनमार्कसँग उसैको मैदानमा खेल्नेछ ।
अन्य खेलमा जर्जियाले स्टोनिया, अजरबैजानले लक्जेमबर्ग, साइप्रसले मोन्टेनेग्रो,जिब्राल्टरले सान मारिनो र नर्थ मेसिडोनियाले अर्मेनियासँग खेल्नेछ ।