एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर एन्टोनियो ग्रिजम्यानले कप्तान लियोनल मेस्सी क्लबमै रहनेमा आफु आशावादी भएको बताएका छन् ।
फ्रान्सको एक टेलिभिजनसँग कुरा गर्दै ग्रिजम्यानले फरवार्ड मेस्सी क्याम्प नाउमै बस्नेमा आफु आशावादी रहेको बताएका हुन् ।
अर्जेन्टिनाका मेस्सी यहिँ समरमा बार्सिलोना छाड्ने योजनामा रहेका छन् । तर, मेस्सी र क्लबबीच सहमति बनेको छैन ।
'हामी यस विषयमा अपडेट रहन कोशिस गर्दैछौं । तर,क्लब र उसको कुरा हो,' ग्रिजम्यानले भने, 'हामीलाई केवल आशा छ कि ऊ रहन्छ ।'
मेस्सीले बार्सिलोनालाई पत्र लेख्दै आफुले क्लब छाड्ने बताईसकेका छन् । मेस्सी क्लबको प्रशिक्षणमा समेत सामेल भएका छैनन् ।
तर, बार्सिलोना मेस्सीलाई क्लबमै राख्ने योजनामा रहेको छ । यस्तै बार्सिलोनाले मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो समेत तोकेको छ ।
कीर्तिमानी ६ पटकको बालोन डी'ओर विजेता मेस्सी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा समेत छ ।
तर, मेस्सी अनुबन्धका लागि क्लबले मोटो रकम तिर्नु पर्नेछ । मेस्सी भने फ्रि ट्रान्सफरमा बार्सिलोना छाड्न चाहन्छ ।
मेस्सीका एजेन्ट समेत रहेका उनका पिता जर्ज मेस्सी बुधबार बार्सिलोना आएर क्लबसँग छलफल गरेको थियो । उनले क्लबका अध्यक्ष जोसेप मारिया बर्टोमेउसँग भेट गरेका थिए ।
तर, भेटमा कुनै सहमति र निस्कर्ष नआएको बताईएको छ ।
केहि संचार माध्यामले भने मेस्सी थप एक वर्ष बार्सिलोनामा बस्न सहमति भईसकेको जनाएको छ ।