एजेन्सी । फ्रान्सको मार्सेली शहरमा लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) को जर्सी प्रयोगमा लगाईएको प्रतिबन्ध हटेको छ ।
फ्रेन्च प्रहरीले यस अघि च्याम्पियन्स लिगको फाइनलको दिन मार्सेलीमा पीएसजीको जर्सी लगाउन प्रतिबन्ध गरेको थियो ।
पोर्चुगलको लिस्बनमा आइतबार राति हुने फाइनलमा पीएसजीले जर्मन क्लब बायर्न म्युनिखसँग खेल्दैछ ।
उक्त फाइनल खेल दौरान मार्सेली र पीएसजीका समर्थकबीच हुने सम्भावित हिंसात्मक गतिविधि कारण देखाएर प्रहरीले जर्सी प्रयोगमा प्रतिबन्ध गरेको थियो ।
तर, त्यसको व्यापक विरोध भएपछि प्रहरीले प्रतिबन्ध हटाएको हो ।
फ्रेन्च लिग वानमा पीएसजी मार्सेलीको कडा प्रतिद्वन्दी हो । जसको कारण मार्सेली समर्थकहरु पीएसजीलाई मन पराउदैनन् ।
च्याम्पियन्स लिगको सेमिफाइनल आरबी लाइपजिगविरुद्ध जित निकाल्दा समेत मार्सेलीमा दुई टिमका समर्थकबीच झडप भएको थियो ।
पीएसजीका समर्थकलाई आक्रमण गर्ने एक मार्सेली समर्थक पक्राउ समेत परेका थिए ।
यस्तै सयौं मार्सेली समर्थकले पीएसजीविरुद्ध नाराबाजी गरेका थिए ।