काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड अभिषेक रिजाल भारतीय दोस्रो डिभिजनको क्लब मोहम्मेदन स्पोर्टिङमा आबद्ध भएका छन् ।
अभिषेक तीन बर्षका लागि भारतको दोस्रो डिभिजनको क्लबमा अनुबन्धित भएका हुन् ।
उनी एसियन कोटाबाट आइलिगको दोस्रो डिभिजनको क्लबमा गएका हुन् ।
दुवै पक्षले सम्झौता रकम गोप्य राखेका छन् ।
मोहम्मेदन आईलिगमा छनोट हुन नसकेको अवस्था र अभिषेकलाई अन्य क्लबबाट प्रस्ताव आएको खण्डमा उनी स्वतन्त्र रुपमा शीर्ष डिभिजनकाे आईलिग खेल्न पाउनेछन् ।
क्लबसंग अभिषेकको सम्झौता अगष्ट १८ अर्थात हिजो मंगलबारबाट लागू भएको छ । उनी आजै (बुधबार) भारततर्फ प्रस्थान समेत गरेका छन् ।
अभिषेकलाई नेपाली एजेन्टको रुपमा रबिन चन्दले भारतीय क्लबसंग जोडेका हुन् । रबिनले पछिल्लो समय नेपाली फुटबलरलाई भारतीय बजारमा लैजान प्रयासरत छन् ।
उनले राष्ट्रिय फुटबलका अन्य खेलाडीलाई समेत भारतीय क्लबसंग जोडिरहेका छन् । रबिन राष्ट्रिय फुटबल टिमका स्टार रोहित चन्दका दाजु हुन् । रबिन आफ्नै भाई रोहितका नेपाली एजेन्ट तथा ब्यवस्थापक समेत हुन् ।

गत बर्ष मछिन्द्रबाट ए डिभिजन लिग खेलेका अभिषेक अन्तिम समयमा माल्दिभ्सको दोस्रो डिभिजनको लिग खेल्न गएका थिए ।
माल्दिभ्सबाट नेपाल फर्किए लगत्तै उनी मनाङबाट मोफसलको फुटबल खेल्न लागेका थिए । तर मछिन्द्रले असहमती राखेपछि उनले मनाङबाट मोफसल खेल्न पाएका थिएनन् ।
उनी पछिल्लो समय भारतीय क्लबमा अनुबन्धनका लागि कोशिश गरिरहेका थिए ।
उनले ७५ सालकाे लिग विजेता मनाङ मर्स्याङ्दी क्लबबाट एएफसी कप खेलेका थिए ।
भारतीय मिनेर्वा पञ्जाबविरुद्ध गोल गरेसँगै उनलाई भारतीय क्लबले नजर लगाउन थालेका हुन् ।
एएफसी कपमा गोल गर्ने अभिषेक पहिलो खेलाडी समेत हुन् ।
मलेसियाविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट डेब्यु गरेका अभिषेकले एक गोल समेत गरेका छन् । उनले मैत्रीपुर्ण खेलमा चाईजिन ताईपेविरुद्ध गोल गरेका हुन् ।
अभिषेक १३ औं दक्षिण एसियाली खेलकुद् (साग) प्रतियोगितामा नेपालले स्वर्ण पदक जिताउने मुख्य सदस्य हुन् । उनले प्रतियोगितामा ४ गोल गरेका थिए ।
अभिषेकलाई अनुबन्धन गरेकाे भारतकाे दोस्रो डिभिजनकाे क्लब मोहम्मदेन एससीको ६ खेलबाट १२ अंक रहेको छ । लिगकाे शीर्षस्थानमा रहेको मोहम्मेदन एससीले दुई खेलमा हार ब्यहोरेको छ । मोहम्मदेन एससीले काेलकत्ता लिग समेत खेल्नेछ ।