एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले टिमको मुख्य प्रशिक्षकमा रोनाल्ड कोम्यानलाई नियुक्त गरेको छ ।
बार्सिलोनाले बुधबार नेदरल्यान्ड्सका प्रशिक्षक कोम्यानलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
डच टिमको मुख्य प्रशिक्षक समेत रहेका कोम्यानले बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेका छन् ।
५७ वर्षीय कोम्यान बार्सिलोनाका पूर्व डिफेन्डर समेत हुन् । उनले क्याटलान क्लबबाट सन् १९८९ देखि १९९५ सम्म खेलेका थिए ।
कोम्यानले बार्सिलोनालाई चार लिग उपाधि र एक युरोपियन कप जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । ६ सिजन क्लबमा रहदा उनले २ सय ५४ खेलमा ८३ गोल गरेका थिए ।

बार्सिलोनाले मुख्य प्रशिक्षक क्वेक सेटिनलाई बर्खास्त गरेको दुई दिन पछि कोम्यानलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
बार्सिलोनाले सोमबार सेटिनलाई बर्खास्त गरेको थियो ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार व्यहोरेपछि बार्सिलोनाले मुख्य प्रशिक्षक सेटिनलाई बर्खास्त गरेको हो ।
पोर्चुगलको लिस्बनमा गत शुक्रबार राति बार्सिलोना बायर्नसँग ८-२ गोल अन्तरले पराजित भएको थियो ।
बार्सिलोनाले गत जनवरीमा सेटिनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
अर्नेस्टो भालभर्डे बर्खास्त गर्दै बार्सिलोनाले ६१ वर्षीय सेटिनलाई टिमको जिम्मेवारी दिएको थियो ।
तर, बार्सिलोनाले खराब प्रदर्शन गरेपछि सेटिन ७ महिनामै बर्खास्तमा परेका हुन् ।
सेटिनको नेतृत्वमा बार्सिलोनाले यस सिजन ला लिगाको उपाधि समेत जित्न असफल भएको थियो ।
सेटिनको नेतृत्वमा बार्सिलोनाले २५ खेल खेलेको छ । जसमा १६ जित, पाँच हार र ४ बराबरी रहेको छ ।