एजेन्सी । ब्राजिलियन विंगर विलियनले आफु डेविड लुइजको कारण आर्सनलमा अनुबन्धित भएको बताएका छन् ।
आर्सनलको वेबसाइटसँग कुरा गर्दै विलियनले आफु क्लब आउनुको कारण ब्राजिलियन टिम मेट तथा डिफेन्डर लुइज भएको बताएका हुन् ।
आर्सनलले विलियनलाई शुक्रबार फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको थियो । विलियनले आर्सनलसँग तीन वर्षको सम्झौता गरेका थिए ।
'हामीले राष्ट्रिय टिमबाट सँगै खेल्यौं, चेल्सीबाट सँगै खेल्यौं अब आर्सनलमा खेल्ने छौँ । मलाई लाग्छ हामीले एक साथ राम्रो गर्न सक्छौं,' ३२ वर्षीय विलियनले भने, 'उसले भन्यो आर्सनलमा आउनुहोस् । आर्सनलमा आउनुहोस् म तपाई चाहन्छु । उहाँ एक असल मान्छे हुनुहुन्छ । एक शीर्ष खेलाडी हुन् । उहाँसँग फेरि खेल्न पाउँदा उत्साहित छु ।'
ब्राजिलियन डिफेन्डर गत सिजन चेल्सीबाट आर्सनल आएका थिए । उनले दुई वर्षको सम्झौता गरेका थिए ।

विलियनले भने यस सिजनको अन्त्यसँगै चेल्सी छाडेका थिए । चेल्सीसँग लामो सम्झौता गर्न असफल भएपछि विलियनले क्लब छाडेका थिए ।
सन् २०१३ देखि २० सम्म चेल्सीका लागि विलियनले ३ सय ३९ खेल खेलेका थिए ।
उनले चेल्सीका लागि ६३ गोल र ५६ अस्सिट गरेका थिए । चेल्सीका लागि विलियन दुई प्रिमियर लिग र एफए कप र युरोपा लिग जितेका थिए ।