'मेस्सीमा निर्भर हुँदा उपाधि गुम्यो'

एजेन्सी । बार्सिलोनाका पूर्व डिफेन्डर अल्बर्ट फेररले टिम कप्तान तथा फरवार्ड लियोनल मेस्सीमा निर्भर हुँदा बार्सिलोनाले ला लिगाको उपाधि गुमाउनु परेको बताएका छन् ।
एक फुटबल म्यागजिन फोरफोर टुसँग कुरा गर्दै अल्बर्टले मेस्सीमा टिम निर्भर हुँदा बार्सिलोना पछिल्लो समय असफल हुँदै आएको बताएका हुन् ।
बार्सिलोनाले यस सिजन ला लिगा जित्न असफल भएको थियो । बार्सिलोनालाई पाँच अंकले पछि पार्दै यस सिजन रियल मड्रिडले उपाधि जितेको थियो ।
कोरोना भाईरसको कारण लिग स्थगित हुनु भन्दा अघि बार्सिलोनाले लिगको अग्रता बनाएको थियो । तर, सिजन सुचारुपछि भने रियलले उत्कृष्ट खेल्दै उपाधि जितेको थियो ।
'यो एक अद्वितीय अवस्था हो । अन्य कुनै टोलीले भन्न सक्दैन कि तिनीहरू कसैमाथि यति धेरै निर्भर छन् । बार्सिलोना मेस्सीबाट स्वतन्त्र हुनु आवश्यक छ । तर ऊ अझै राम्रो छ,' अल्बर्टले भने ।
मेस्सीले यस सिजन २५ गोल गरेका थिए । यस्तै २० भन्दा धेरै असिस्ट गरेका थिए । मेस्सीले एकै सिजन २० भन्दा बढी गोल र अस्सिट गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।
ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी समेत जितेका थिए ।
अल्बर्टले मेस्सी टिममा हुनु बार्सिलोनाका लागि राम्रो संकेत भएको बताए । तर, अन्य खेलाडीले समेत खेल्नु पर्ने उनको भनाई छ ।
'बार्सिलोनामा अझै मेस्सी रहेको राम्रो संकेत हो । तर अन्य खेलाडीहरूले खेल्नु आवश्यक छ । मेस्सीलाई मार्क गर्न गाह्रो हुन्छ तर कहिले काहिँ उहाँ घेरिनुहुन्छ, त्यसैले टिमलाई अन्य मार्गहरू चाहिन्छ,' ५० वर्षीय उनले थपे ।
स्पेनिस डिफेन्डर अल्बर्टले बार्सिलोनाका लागि सन् १९९० देखि १९९८ सम्म खेलेका थिए ।