एजेन्सी । स्पेनिस लिजेण्ड जाभी हर्नान्डेज कोरोनाबाट मुक्त भएका छन् ।
कतारी क्लब अल सद्धले प्रशिक्षक हर्नान्डेजलाई दैनिक प्रशिक्षणमा फर्कने अनुमती प्राप्त भएको जानकारी दिएको छ ।
बार्सिलोनाका पूर्व महान खेलाडी हर्नान्डेजलाई गत शनिबार कोरोना भएको पुष्टि भएको थियो । लगत्तै उनीले गत शनिबारबाट सुरु भएको घरेलु लिगमा टिमसंग उपलब्ध हुन नसक्ने बताएका थिए ।
‘आज म आधिकारिक रुपमा प्रतियोगितामा आफ्नो टिमसंग रहने छैन ।’ जाभीले आफ्नो ईन्टाग्राम एकान्टमा भनेका थिए ।
उनले आफ्नो अनुपस्थितीमा क्लबको नेतृत्व सहायक डेविड प्रेट्सले गर्ने बताएका थिए । लिगको सुरुवाती दौरान गरिएको परिक्षणमा जाभीमा कोरोनाको संक्रमण देखिएको थियो ।
उनले आफुमा कुनै संक्रमणको लक्षण नदेखिएपनि कोरोना भएको पुष्टि भएको बताएका थिए । उनले आफु एकान्तवासमा गएको उल्लेख गर्दै निको भएर चाँडै मैदान भेट्ने बाचा गरेका थिए ।
बुधबारको रिपोर्टपछि स्पेनिस प्रशिक्षक जाभी सामान्य काममा फर्कन पाउने भएका छन् ।
उनीसंगै ब्राजिली मुलका कतारी अन्तराष्ट्रिय खेलाडी रोड्रिगो समेत नयाँ क्लबको अभ्यासमा फर्किएका छन् ।
‘अल सद्धको पहिलो टिमले बुधबार समेत अभ्यास गरेको छ । लिगको १९ औं खेलका लागि क्लबले तयारी गरेको हो । जुन खेल अर्को सोमबार हुदैछ ।’ अल सद्धले आफ्नो अफिसियल साईटमा भनेको छ ।
‘बुधबार प्रशिक्षक हर्नान्डेज निको भएर मैदान फर्किएका छन् । उनी १४ दिन अघि संक्रमित देखिएका थिए ।’ क्लबले भनेका छन् ।