एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युनाइटेडले १० खेलाडीमा सिमित लेष्टर सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र जेसे लिंगार्डले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
जोनी इभान्सले युनाइटेडका एन्थोनी मार्सियललाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । जसमा फर्नान्डेसले सहजै गोल गरे ।

यस्तै खेलको इन्जुरी समयमा इभान्सले रातो कार्ड पाएपछि अन्तिम केहि समय लेष्टर १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको अन्तिम समयमा लिंगार्डले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए ।
जितसँगै युनाइटेडले ३८ खेलमा ६६ अंक जोडेको छ । र, युनाइटेड च्याम्पियन्स लिगमा छनोट भएको छ ।

लेष्टरमाथिको जितसँगै युनाइटेडले तेस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।
लेष्टर भने ६२ अंक जोडेर पाँचौं स्थानमा रह्यो । लेष्टरले आगामी सिजन युरोपा लिग खेल्नेछ ।
