काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाईरसको कारण अवरुद्ध फुटबलको सिजन पुरा गर्ने भएको छ ।
कोरोनाको कहरसंगै गत चैतबाट ठप्प जस्तै रहेको घरेलु फुटबलको सिजन एन्फाले पुरा गर्ने भएको हो । कोरोनाको संक्रमण सुरु भएसंगै एन्फाले चालू अवस्थामै रहेको 'बी' डिभिजन लिग रोकेको थियो ।
कोरोनाकै प्रभावले 'बी' र 'सी' डिभिजन लिग सहित पुरुषको राष्ट्रिय लिग र महिलाको शीर्ष डिभिजनको लिग अबरुद्ध बनेको थियो ।
तर कोरोनाले सिजन प्रभावित बनेपनि एन्फाले फुटबल सिजन पुरा गरेरमात्र नयाँ सिजन सुरु गर्ने भएको हो ।
‘क्लबसंग आन्तरिक छलफल गरिरहेका छौ । सुरुमा कोरोना संक्रमण फैलन नदिन फुटबलका सम्पूर्ण कार्यक्रम स्थागित गर्यौ । अब फुटबल जहाँ रोकिएको हो, त्यहीबाट सुरु हुन्छ ।’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलपाटीसंग भने ।
सरकारले भदौ १ गतेबाट अन्तराष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण खुल्ला गर्ने निर्णय गरिसकेको छ । सरकारको अनुमतीसंगै एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ । विश्वकप छनोट अन्तर्गत दोस्रो चरणका खेलहरु घरेलु मैदानमा हुने भएकाले एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण तत्काल सुरु गर्ने लागेको हो ।
सोही अनुसार एन्फाले साउन १५ गतेभित्र खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा जोडिन पत्राचार गरिसकेको छ । खेलाडीको पीसीआर टेष्ट गरेर एन्फाले १५ दिने क्वारेन्टिनमा राख्ने योजना समेत बनाएको छ । साउन मसान्तसम्म खेलाडीलाई क्वारेन्टिनमा राखेर भदौ १ गतेबाट राष्ट्रिय टिमको प्रशिक्षण थाल्ने एन्फाको तयारी छ ।
‘फागुन, चैतसम्म लकडाउन गएको भए समस्या हुन्थ्यो । तर कोरोनाले केही महिना प्रभावित बनाएपनि सिजन पुरा गर्ने तयारीका साथ अघि बढेका छौ ।’ शेर्पाले भने, ‘पुरानै योजनालाई परिमार्जित गर्दै सिजन पुरा गर्नेछौ ।’
कोरोनाको संक्रमण बढ्ने देखिएसंगै सरकारले सम्पूर्ण खेल गतिविधि बन्द गर्न चैत ४ गते निर्देशन दिएको थियो । लगत्तै एन्फाले चालू अवस्थामै रहेको बी डिभिजन लिग स्थगित गरेको थियो ।
एन्फाले प्रेस बिज्ञप्ती निकाल्दै चैत १२ गतेसम्म लिग स्थगित गरिएको जानकारी गराएको थियो । तर सरकारले चैत ११ गतेबाट देशभर लकडाउन गरेसंगै फुटबल सहित सम्पूर्ण खेल गतिविधि अनिश्चित समयका लागि स्थगित गरिएको थियो ।
एन्फाले चैत २८ गतेबाट सी डिभिजन लिग सुरु गर्ने घोषणा गरेको थियो । एन्फाले बैशाखकै पहिलो साता सुरु गर्ने तयारी गरेको महिला लिग र पुरुष राष्ट्रिय लिग समेत कोरोनाले अनिश्चित बनेको थियो । राष्ट्रिय लिग सञ्चालका लागि एन्फाले प्रदेश लिग सक्नै बाँकी छ ।
प्रदेश लिग सकिएपछि एन्फा प्रेसिडेन्ट लिग सञ्चालन गरेर शीर्ष चार टिमलाई राष्ट्रिय लिगमा लैजाने नयाँ ढाँचा सुरु गर्ने तयारी एन्फाको छ । तर कोरोनाले सबै फुटबल प्रतियोगिता अनिश्चित समयका लागि स्थगित भयो । कोरोनाले चालू अवस्थामा रहेका र सुरु गर्न लागिएका मोफसलका गोल्डकप समेत नराम्ररी प्रभावित बनेका थिए ।
‘कोरोनाले फुटबलमात्र हैन, सबै चिज प्रभावित बनेको छ । तर मुख्य कुरा अबरुद्ध बनेको सिजन पुरा हुन्छ ।’ शेर्पाले भने ।