एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले कोरोना भाईरसबाट सबैभन्दा बढी प्रभावित क्लब बार्सिलोना भएको बताएका छन् ।
स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोसँग कुरा गर्दै अध्यक्ष जोसेपले कोरोनाले आफ्नो क्लबलाई सबैभन्दा बढी प्रभावित गरेको बताएका हुन् ।
'हाम्रो रणनीति अनुसार हामीले १.१ विलियन कमाउने योजना बनाएका थियौं तर कोभिड-१९ को कारण हामीले ३० प्रतिशत कम पाउने छौ,'अध्यक्ष जोसेपले भने ।
कोरोनाको कारण करिब ४ महिना लिग स्थगित भएको थियो । यस्तै लिग सुचारुपछि खेलहरु बन्द रंगशालामा खेलाईएको थियो ।
बन्द रंगशालामा खेल हुँदा टिकट बिक्रिवापत आउने रकम समेत रोकिएको थियो । यस्तै बार्सिलोना यस सिजन उपाधि जित्न बन्चित बनेको थियो ।
'यो महामारीले बार्सिलोनालाई असर गर्दैन भनेर सोच्छन् भने तिनीहरु गलत छन् । यसले ठुला युरोपियन क्लबलाई असर गर्छ । बार्सिलोना ठुला युरोपियन क्लब हो । जसले धेरै पैसा कमाउँछ र सबैभन्दा बढी प्रभावित हुन्छ,' अध्यक्ष जोसेपले भने ।
अध्यक्ष जोसेपले कोरोना सुरु भएपछि क्लबले २ सय मिलियन गुमाएको समेत बताए ।
'मार्च १४ बाट हामीले युरो प्राप्त गर्न सकेनौं । हामीले २०० मिलियन गुमायौं,' अध्यक्ष जोसेपले थपे, 'हामीले पसल र म्युजियम बन्द गर्न पर्यो । हामीले टिकट बेच्न सकेनौं । हामीले समर्थकको टिकटको पैसा फिर्ता दिनु पर्यो । २०० मिलियन ठुलो झड्का हो ।'
जोसेपले यसको प्रभाव आगामी दुई देखि ३ सिजन पर्ने समेत बताए ।
'यो महामारीले दुई देखि तीन सिजन प्रभावित गर्छ । कसैलेपनि सोच्नु हुँदैन कि अर्को सिजन समाधान हुन्छ । वित्तीय विज्ञहरु चार वर्षको कुरा गर्छन् तर मलाई लाग्छ फुटबल अली चाडो जान्छ,' उनले भने ।
तर, जोसेपले क्लब अझै राम्रो अवस्थामा भएको समेत बताए ।