एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (आइतबार) उपाधि नजिक रहेको युभेन्ट्सले साम्पडोरियासँग प्रतिस्पर्धा गर्दैछ ।
युभेन्ट्सले घरेलु मैदानमा साम्पडोरियासँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति १:३० मा सुरु हुनेछ ।
घरेलु मैदानमा युभेन्ट्स साम्पडोरियालाई हराएर उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । युभेन्ट्सलाई यस सिजन उपाधि जित्न मात्र ३ अंकको आवश्यकता रहेको छ ।
यस्तोमा साम्पडोरियालाई हराउँन सकेमा युभेन्ट्स दुई खेल अगावै च्याम्पियन बन्नेछ ।
लिग लिडर युभेन्ट्स दोस्रो स्थानको इन्टर मिलान भन्दा ४ अंकले अघि रहेको छ । युभेन्ट्सले ८० अंक जोड्दा इन्टरले ७६ अंक जोडेको छ ।
युभेन्ट्सले घरेलु मैदानमा ३ अंक जोडेमा लगातार नवौं सिजन सिरी 'ए' को उपाधि जित्नेछ ।
युभेन्ट्सले सन् २०११/१२ को सिजन यता लगातार उपाधि जित्दै आइरहेको छ । यस्तै युभेन्ट्सले ३६ औं सिरी 'ए' उपाधि जित्नेछ ।
उपाधि जित्ने लक्ष्य लिएको युभेन्ट्सले क्रिस्टियानो रोनाल्डो, पाउल डिबालालाई मुख्य हतियारको रुपमा प्रयोग गर्नेछ ।
तर, चोटको कारण जर्जियो चेलीनी, सामी खेडीरा र डग्लास कोस्टाले साम्पडोरियाविरुद्धको खेल गुमाउन सक्नेछन् । गोन्जालो हिगुईन भने टिममा फर्कने सम्भावना रहेको छ ।
यता, साम्पडोरिया घरेलु टोलीलाई रोक्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । साम्पडोरिया ४१ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
सिरी 'ए' अन्तर्गत नै अर्को खेलमा लाजियोले भेरोनासँग खेल्नेछ ।
यस्तै रोमाले फियोरेन्टिना, बोलोग्नाले लेसी, काग्लियारीले उडिनेजे र एसपीएलले टोरिनोसँग खेल्नेछ ।