एजेन्सी । लिभरपुलले धेरै अघि लिग उपाधि उचालेपनि प्रिमियर लिग फुटबलको रोमाञ्चकता अन्तिम खेलसम्म बाँकीनै छ ।
च्याम्पियन लिभरपुलले लिगको सुरुवाती चरणमा एकलौटी नतिजा निकालेपनि च्याम्पियन्स लिग छनोटका लागि अन्तिम खेलनै कुर्नुपर्ने भएको छ ।
लण्डन क्लब चेल्सी, म्यान्चेष्टर युनाईटेड र लेस्टर सिटी च्याम्पियन्स लिग छनोटको दौडमा छन् । अन्तिम खेलले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने टोलीको टुङ्गो लगाउनेछ ।
अन्तिम खेलमा लेस्टर र म्यान्चेष्टर युनाईटेड भिड्नेछन् भने चेल्सीको भेट छैटौ स्थानको उल्भ्ससंग हुनेछ ।
स्पष्ट चित्र भनेको लेस्टर, युनाईटेड र चेल्सीले आ आफ्नो खेलमा जित निकालेको खण्डमा अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुनेछन् । बराबरी र हारको नतिजा ब्यहोरेको खण्डमा भने अर्को खेलमा भर पर्नुपर्नेछ ।
च्याम्पियन लिभरपुल र म्यान्चेष्टर सिटी अर्को सिजन च्याम्पियन्स लिगमा छनोट भईसकेका छन् । तेस्रो स्थानमा युनाईटेडको ६३ अंक छ । समान अंक भएपनि गोल अन्तरका आधारमा चेल्सी चौथो स्थानमा छ । एक अंक कम भएको लेस्टर ६२ अंक सहित पाँचौ स्थानमा छ ।

युनाईटेडको सम्भावना : च्याम्पियन्स लिगमा पुग्न युनाईटेडलाई लेस्टरबिरुद्ध बराबरीको नतिजानै पर्याप्त हुनेछ । लेस्टरबिरुद्ध हारले समेत युनाईटेड च्याम्पियन्स लिगमा पुग्न सक्छ तर लण्डन क्लब अर्को खेलमा उल्भ्ससंग पराजित हुनुपर्नेछ ।

चेल्सी : चेल्सीलाई च्याम्पियन्स लिगमा पुग्न जितको विकल्प छैन । तर म्यान्चेष्टर युनाईटेडले लेस्टरलाई हराएको खण्डमा चेल्सी पराजित भएको अवस्थामा समेत च्याम्पियन्स लिगमा पुग्न सक्छ ।

लेस्टर सिटी : लेस्टरलाई समेत च्याम्पियन्स लिगमा स्थान बनाउन जितको विकल्प छैन । चेल्सी पराजित बनेको अवस्थामा युनाईटेडसंगको बराबरीले समेत लेस्टरलाई च्याम्पियन्स लिगमा पुर्याउन भने सक्नेछ ।