काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्द नेपाल फर्किएका छन् ।
व्यवसायिक फुटबलको लागि इन्डोनेसियामा बस्दै आएका रोहित शुक्रबार नेपाल फर्किएका हुन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले लकडाउन गरेपछि रोहित इन्डोनेसियामै रहेका थिए ।
यस्तै रोहितले खेलिरहेको इन्डोनेसियाको शीर्ष डिभिजन लिग समेत अनिश्चित कालका लागि स्थगित भएको थियो ।
इन्डोनेसियाको लिग सुचारुको टुंगो नभएपछि रोहित स्वेदश फर्किएको उनको दाजु रोविन चन्द ठकुरीले खेलपाटीलाई बताए ।
‘अक्टोबर यता खेल नहुने भएको छ । मिति तय भैसकेको छैन । त्यसैले शुक्रबार रोहित स्वेदश आएका हुन्,’ उनले भने ।
गत मार्चमा इन्डोनेसियाको लिग वान स्थगित भएको छ । रोहित पर्सिजा जकार्ताबाट लिग खेल्दै आइरहेका छन् ।
रोहित जकार्ताबाट मलेसिया हुँदै नेपाल आएका हुन् । जकार्तामै रहेका बेला होम आइसोलेसनमा रहेका रोहित कोरोना परिक्षण गरेर नेपाल आएका हुन् । उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
नेपाल आए लगत्तै रोहित होम क्वारेन्टाईनमा बसेको दाजु रोविनले बताए ।
‘नेपाल आएलगत्तै होम क्वारेन्टाईनमा बसेको छ । अवको दुई हप्ता क्वारेन्टाईनमा हुन्छ,’ उनले भने ।
कोरोनाको कारण नेपालमा समेत खेलकुद गतिविधि ठप्प रहेको छ ।
तर, एन्फाले जुलाईको दोस्रो साताबाट राष्ट्रिय टिमको तयारी सुरु गर्ने बताएको छ ।