एजेन्सी । इंगलिस प्रिमियर लिग च्याम्पियन योर्गेन क्लोपले म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओला विश्वकै सर्वोकृष्ट प्रशिक्षक भएको बताएका छन् ।
लिभरपुललाई ३० वर्ष पछि प्रिमियर लिगको उपाधि दिलाएपछि एक अन्तर्वार्तामा क्लोपले ग्वार्डिओला अझै विश्वको नम्बर एक प्रशिक्षक भएको बताएका हुन् ।
'विश्वका उत्कृष्ट प्रशिक्षकको उपाधिबाट म केही गर्न सक्दिन,' क्लोपले विल्डसँग भने, 'मलाई थाहा छ कि सम्पूर्ण ट्रेनर र टोलीका प्रशिक्षक राम्रा प्रशिक्षक हुन् । तर, मलाई लाग्छ पेप ग्वार्डिओला विश्वकै सर्वश्रेष्ठ प्रशिक्षक हुन् ।'
ग्वार्डिओला क्लब फुटबलमा सफल प्रशिक्षक हुन् । स्पेन र जर्मन क्लबमा धेरै सफलता हात पारेका उनले प्रिमियर लिगमा समेत ठुला उपाधि जिते ।
सिटीलाई ग्वार्डिओलाले अघिल्ला दुई सिजन लगातार उपाधि दिलाएका थिए ।
तर, यस सिजन भने क्लोपको टिमले सिटीलाई फराकिलो अन्तरले पछाडी पार्दै उपाधि आफ्नो बनाए ।
लिग अन्तर्गत बिहिबार राति सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुलले लिगको उपाधि जितेको थियो ।
लिभरपुलले ३० वर्ष पछि पहिलो पटक लिगको जितेको हो ।
यस अघि लिभरपुलले सन् १९८९/९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।