कोस्टासंग जोर्गिन्हो साट्ने तयारी

एजेन्सी । सिरि ए क्लब युभेन्ट्सले ब्राजिली विङ्गर ड्युगलस कोस्टालाई चेल्सीका मिडफिल्डर जोर्गिन्होसंग साट्ने तयारी गरेको छ ।
प्रशिक्षक माउरिजियो सर्रीले नयाँ सिजनका लागि निकै प्रयास गरेको जोर्गिन्होलाई कोस्टासंग साट्ने तयारी गरेका हुन् ।
चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले अजाक्सका हामिक जियचलाई अनुबन्धन गरेर लण्डन क्लबलाई बलियो बनाएका छन् । उनी जर्मन क्लब आरबी आईपेजिगबाट टिमो वार्नर समेत लण्डन क्लब आउनेमा विश्वस्त छन् ।
तर समर ट्रान्सफरमा एक भित्र र अर्को बाहिर पठाउने चेल्सीको नीतिका कारण जोर्गिन्हो र एनगोलो कोन्टेको भविष्य अनिश्चित बनेको छ ।
युभेन्ट्सले आगामी समर ट्रान्सफरमा जोर्गिन्होलाई सिरि ए क्लब फर्काउन चाहेको छ । सोही कारण कोस्टालाई जोर्गिन्होसंग साट्न सकिने प्रस्ताव युभेन्ट्सले अघि सार्न खाजेको हो ।

युभेन्ट्सका प्रशिक्षक माउरिजियो सर्री जोर्गिन्होलाई कुनै हालतमा अनुबन्धन गर्न चाहन्छन् । उनले जोर्गिन्होसंग नापोली र चेल्सीमा संगै काम गरेका थिए ।
मिरालेम पजनिक समेत बार्सिलोना जान चाहेकाले जोर्गिन्होले उनलाई प्रतिस्थापन गर्न सक्ने सर्रीको विश्वास छ । पजनिकको स्थानमा सर्रीले आफ्नो ढाचा अनुसार खेल्न सक्ने विकल्पमा जोर्गिन्हो रोजेका हुन् ।
लण्डन क्लबले जोर्गिन्होका लागि करिब ४५ मिलियन पाउण्डको मुल्य तोकेको छ । तर युभेन्ट्स खेलाडी साटफेरको विकल्पमा छलफल अघि बढाउन चाहन्छ ।

युभेन्ट्सले कोस्टाको विकल्पको रुपमा एलेक्स सान्ड्रोलाई जोर्गिन्होसंग साट्न सकिने विकल्प समेत तयार गरेको छ ।
लण्डन क्लब चेल्सीले जर्मन गोल मेसिन टिमो वार्नरलाई ५३ मिलियन पाउण्डमा अनुबन्धका लागि सैद्धान्तिक रुपमा सहमती जनाईसकेको छ ।
प्रिमियर लिग क्लब चेल्सीले खेलाडी सरुवा बजार खुलेसंगै आफुसंग भएका धेरै खेलाडीलाई बेच्न चाहेको छ । चेल्सीले अर्को सिजनका लागि बार्यन लिभरकुशनका प्रभावशाली मिडफिल्डर काई हाभर्टजलाई समेत पछ्याईरहेको छ ।












