एजेन्सी । बार्सिलोनाका पूर्व अध्यक्ष जोन गास्पर्टले रियल मड्रिड शीर्ष स्थानमा नभएको कारण स्पेनिस ला लिगा फुटबल रद्द नभएको बताएका छन् ।
स्पेनिस पत्रिकासँग कुरा गर्दै पूर्व अध्यक्ष गास्पर्टले रियल शीर्ष स्थानमा रहेको भए कोरोनाको महामारीले स्थगित ला लिगा रद्द भईसक्ने दाबी गरेका हुन् ।
'यदि मड्रिडले अग्रता लिएको हुन्थ्यो भने ला लिगा समाप्त हुने थियो,' गास्पर्टले भने ।
कोरोनाको कारण मार्चबाट स्थगित लिगमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । लिगमा ११ खेल बाँकी रहदा बार्सिलोना रियल मड्रिड भन्दा २ अंकले अघि रहेको छ ।
ला लिगाले आगामी जुनमा लिग सुचारु गर्ने तयारी गरिरहेको छ ।
यस्तै गास्पर्टले नेयमार बार्सिलोना फर्किए आफु खुसी हुने समेत बताए ।
'म नेयमारलाई बार्सिलोनामा देख्न चाहन्छु । उसले अझै बार्सिलोनामा योगदान दिने छन्,' उनले भने ।
गास्पर्ट सन् २००२ देखि ३ सम्म बार्सिलोनाका अध्यक्ष रहेका थिए ।