एजेन्सी । म्यानुयल नुयरले जर्मन क्लब वायर्न म्युनिखसंग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । लण्डन क्लब चेल्सीसंग जोडिएका नुयरलाई जर्मनमै राख्न बुन्डेसलिगा च्याम्पियन वायर्न सफल भएको हो ।
चेल्सीले जर्मनका लिजेण्ड गोलकिपर नुयरलाई स्टामफोर्ड ब्रिजमा उतार्ने सकिने विश्वास गरेको थियो । चेल्सीले नुयरलाई गोलकिपर किपा अरिजाब्लागाको विकल्पको रुपमा हेरेको थियो ।
३४ वर्षका जर्मन गोलकिपरले यस सिजन वायर्न छोड्ने धेरैले अनुमान गरेका थिए । क्लबले विवादास्पद रुपमा अलेक्जेनडर नुबेललाई जनवरीमा अनुबन्ध गरेपछि नुयरले क्लब छाड्ने धेरैको अनुमान थियो ।
तर वायर्नसंग नयाँ सम्झौता गरेका नुयरको निर्णयले एलिनाज एरिनामै उनले करियर अन्त्य गर्ने चाहेको बुझिएको छ ।
नुयरसंगको नयाँ सम्झौता सन् २०२३ सम्मका लागि गरिएको छ । नुयर ३७ वर्षको उमेर पुग्दा क्लबसंगको सम्झौता सकिनेछ ।

क्लबका प्रमुख कार्यकारी अधिकृत कार्ल हेन्ज रममेनिगले नुयरसंगको नयाँ सम्झौताले खुसी दिएको बताए ।
'वायर्न धेरै खुसी छ । नुयरसंगको सम्झौता सन् २०२३ को जुलाई ३० सम्म रहेको छ ।' उनले भने ।
'उनी विश्वका उत्कृष्ट गोलकिपर हुन र उनी हाम्रा कप्तान हुन् ।' उनले थपे ।
क्लबका खेल निर्देशक हसन सालाहमजिकले सम्झौता दुवै पक्षकालागि महत्वपूर्ण रहेको बताए ।
'हामी दुवैले जित्ने अवस्था सिर्जना गरेका छौ । जो नुयर र हाम्रा लागि महत्वपूर्ण रहेको छ ।' उनले भने ।
नयाँ गोलकिपरको आगमनसंगै नुयर क्लबसंग रिसाएका थिए । उनले आफुले क्लब छाड्ने चेतावनी समेत दिएका थिए ।