एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले उचित समयमा प्रिमियर लिग क्लबको प्रशिक्षण सुचारु भएको बताएका छन् ।
क्लबलाई प्रशिक्षण गर्न अनुमति दिने प्रिमियर लिगको निर्णयलाई स्वागत गर्दै क्लोपले प्रशिक्षण सुचारुको योजना उपयुक्त समयमा भएको बताएका हुन् ।
प्रिमियर लिगले मंगलबारबाट क्लबलाई सानो समूह बनाएर प्रशिक्षणका लागि अनुमति दिएको थियो । प्रिमियर लिगको अनुमतिसँगै क्लबहरुले प्रशिक्षण सुरु गरिसकेका छन्।
क्लोपले जर्मनीका सुरक्षित तरिकाले लिग सुचारु गरिसकेको कारण इंग्ल्यान्डले समेत त्यहिँ विधि प्रयोग गर्न सकिने बताए ।
'केहि खेलाडीमा कोरोनाको संक्रमण देखिएपनि जर्मनीले आफुलाई प्रमाणित गरिसकेको छ । प्रिमियर लिगमा यो क्षण राम्रो हो । निश्चित रुपमा अन्य चिजहरु अनुशरण गर्छौं,' क्लोपले भनेका छन् ।
कोरोनाको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित गरिएको छ । तर, प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ ।
प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।